
हुलाकी न्यूज, काठमाडौं २९ जेठ । मधेशी कलाकर्मीहरु सधैं राज्यको तर्फबाट उपेक्षित हुँदै आएको गुनासो मधेशी कलाकारहरुले गरेका छन् ।
मैथिली सिने संसार त्रैमासिक पत्रिकाको चौथों वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मधेशी कलाकर्मीहरु सो गुनासो पोखेका छन् ।
शनिबार मधेश मिडिया हाउसमा आयोजित वार्षिकोत्सवमा मधेशका साहित्यकार, गायक, गायिका, सँगीतकार लगायतले राज्यले मधेशका कलाकर्मीलाई उपेक्षा गर्दै आएको गुनासो गरेका छन् ।
उनीहरुले राज्यको तर्फबाट उपेक्षा त हुन्छ नै र मधेशका नाममा खोलिएका राजनीतिक दलहरुले पनि उनीहरुको समस्या नउठाएको आरोप लगाएका छन् ।
मधेशको कला संस्कृतिबारे जगर्ने गर्ने मैथिली सिने संसार राज्य र मधेशवादी दलहरुबाट पनि उपेक्षित भएको कार्यक्रमका वक्ताहरु धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक हरिशंकर चौधरीले मधेशको कला संस्कृतिका बारेमा जगर्ने गर्ने एक मात्र पत्रिका भएकोले यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । यसैगरी, साहित्यकारहरु अरविन्द मिश्र, विनीत ठाकुर र आनन्द गुप्ता, कलाकारहरु सरोज खेलाडी, तुलसी चौधरी, गायिका तनुजा चौरसिया, अन्जली पटेल, युवा नेताहरु योगेन्द्र देव, प्रवीण लाभ, विकास ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मैथिली सिने संसारका प्रकाशक तथा सँगीतकार कमल मण्डलको अध्यक्षतामा सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रममा गायिका तनुजा चौरसिया, अन्जली पटेल, सरोज खेलाडी, विनीत ठाकुर र आनन्द गुप्तालाई एक थान डायरी र कमल दिएर दोसल्ला ओढाई सम्मान गरिएको थियो ।



