
हुलाकी न्यूज, जनकपुरधाम २५ जेठ । करिब पाँच वर्षदेखि अनियमित लोडसेडिङ्गको भार खेपिरहेका जनकपुरवासीलाई कडा संघर्षमा उत्रिन मधेश अधिकार संघर्ष समिति (मास) ले आग्रह गरेको छ ।
जनकपुरवारीले भोगिरहेको अनियमित विद्युत कटौटीविरुद्ध मासले बेलाबेलामा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएपनि कुनै सुधार हुन नसकेको मासका संयोजक सरोज मिश्रको गुनासो छ ।
अनियमित लोडसेडिङ्गको विरुद्धमा मासको नेतृत्वमा जनकपुरधामको रामानन्द चौकमा सोमबार दुईघन्टे चक्काजाम गरेको थियो ।
जनकपुरका सिडियोले लोडसेडिङ्गको समस्याबारे माससँग मंगलबार बैठक गरेको थियो । तर त्यो बैठक पनि बिना निष्कर्ष टुंगिएपछि मासका संयोजक मिश्रले अब कडा आन्दोलन गर्नुपर्ने बाध्यता भएको जनाएका छन् ।
मिश्रले ‘आजको बैठक पनि निष्कर्षविहीन, सी.डी.ओ. साहब को पर्खाइ’ सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । उनले यो सातामा केही भएन भने कडा संघर्षमा उत्रिन जनकपुरवासी लगायत युवा विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।



