
हुलाकी न्यूज, काठमाडौं २५ जेठ । महन्थ ठाकुर नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीमा अहिले महाधिवेशनको रौनक छाएको छ ।
तमलोपा स्थापना भएको १०औं वर्षपश्चात् प्रथम पटक हुन लागेको महाधिवेशनमा पार्टीका हरेक ईकाईहरु जोडतोडका साथ तयारीमा जुटेका छन् ।
महाधिवेशन सफल बनाउन बनाइएको हरेक समितिले आआफ्नो काममा व्यस्त छन् । “संघर्ष, समानता और सम्मान का, मधेशी राष्ट्र की पहचान का” मूल नाराका साथ तमलोपाको प्रथम महाधिवेशनको तयारी तीव्ररुपमा भइरहेको छ ।
नवलपरासीको रामग्राममा असार ६–८ गतेसम्म हुन गइरहेको प्रथम महाधिवेशनको तयारीअनुरुप राजनीतिक दस्तावेज तयारी समितिले राजनीतिक दस्तावेज तयार गरेर तमलोपा अधयक्ष महन्थ ठाकुरलाई हस्तान्तरणसमेत गरिसकेको छ ।
प्रचार प्रसार समितिले मंगलबार काठमाडौंमा कार्यरत् मधेशी सञ्चारकर्मीहरुसँगसमेत विचार विमर्श गरेको छ ।
मधेशका हरेक जिल्लामा प्रचार प्रसार, वाल पेन्टिङ्ग र पोष्टर टाँस्ने कार्यलाई तीव्रता दिएको छ । महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको प्रचार समितिको दाबी छ ।



