
हुलाकी न्यूज, काठमाडौं २५ जेठ । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकार आफैले विखण्डनको बीउ रोप्न उद्दत रहेको आरोप लगाएका छन् ।
उनले जनताको अधिकार सुनिश्चित हुनेगरि संविधान पुनर्लेखन नभए मुलुकमा विद्रोह हुने भन्दै सरकारलाई सचेत गराएका छन् । अन्तरिम संविधानले दिएको अधिकार पनि खोसिएको जिकिर गर्दै संयोजक यादवले जनताको धैर्यता टुटे विद्रोह निश्चित भएको चेतावनी दिए । अनसनमा बसेका यादवले मुलुकको यो दुर्दशा हुनुमा सरकारको नश्लवादी चिन्तन मुख्य दोषी रहेको आरोप लगाए ।
संघीय गठबन्धनले खुला मञ्चमा मंगलबारदेखि थालेको रिले अनसन स्थलमा पत्रकारहरुसँग कुरा गर्दै यादवले उत्पीडित जनताको भावनासँग खेलवाड नगर्न सरकारलाई सुझाव दिए । ‘मुलुकमा लोकतन्त्र हराएको छ । सरकारमा तस्कर र भ्रष्टाचारी हावी छन् । देश यसरी चल्दैन,’– यादवले भने । प्रधानमन्त्री केपी ओलीको नश्लवादी चिन्तनले मुलुक ध्वस्त भइरहेको यादवको आरोप छ ।
‘हामी मुलुकलाई जोड्न चाहन्छौं, यो आन्दोलन त्यसकै लागि हो,’ संघीय समाजवादी फोरम नेपालको अध्यक्ष समेत रहेका यादवले भने ।
सबै उत्पीडितजनताले स्वामित्व ग्रहण गर्ने गरी संविधान पुनर्लेखन गराउन आफूहरुले अनशन सुरु गरेको उनले बताए । ‘अहिलेको संविधानले अन्तरिम संविधानमा प्राप्त भएका उपलब्धिहरुलाई समेत खोस्ने र मुलुकलाई पछाडि धकेल्ने कार्य गरेको छ । यसकारण यो संविधान प्रतिगामी छ,’ यादवले भने, ‘संविधान पुनर्लेखन गराउनका लागि र यसलाई सबै जनताले स्वामित्व ग्रहण गर्ने बनाउनका लागि हामीले रिले अनशन कार्यक्रम थालनी गरेको हौ ।’
आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु लगायत समुदायका पहिचान, समावेशी र स्वायत्तता र स्वशासनका सवाल हल गर्ने सन्दर्भमा राज्यले आफ्नो उत्तरदायित्व र कर्तव्यबाट पछि हटेर गैरजिम्मेवारीपन देखाएकाले आफूहरुले आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।



