
हुलाकी न्यूज, काठमाडौं २४ जेठ । राष्ट्रिय सहमतिको सरकारप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कुनै सरोकार नरहेको मोर्चाका नेता महेन्द्र राय यादवले बताएका छन् ।
उनले भने, ‘राष्ट्रिय सहमतिको सरकार मधेशी मोर्चाका लागि हर्ष न विष्मात् ।’ तराई मधेश सद्भावना पार्टीका अध्यक्षसमेत रहेका सरकारप्रति मोर्चाको कुनै सरोकार नरहेको प्रष्ट्याए ।
सोमबार रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा यादवले भने, ‘हाम्रो माग पूरा नभएसम्म हामीलाई सरकार गठनबारे कुनै चासो छैन, सहमतिको सरकार गठन गर्ने विषय हाम्रो लागि कागलाई बेल पाक्यो, हर्ष न विष्मात् जस्तै हो ।’’
अध्यक्ष यादवले मधेशी मोर्चाको माग नै संविधानको संशोधन वा पूनर्लेखन भएको भन्दै त्यो माग पूरा नभएसम्म आफूहरु सरकारमा सहभागी नहुने ठोकुवा गरे । उनले भने, ‘व्यक्ति जो भएपनि हाम्रा लागि काँग्रेस, एमाले र माओवादी–केन्द्र सबै एकै हुन्, जुन पार्टीको नेतृत्वमा सरकार गठन भएपनि हामी जाँदैनौ ।’
यादवले तीन दल मधेशी, आदिवासी, जनजाति लगायतका मागप्रति गम्भिर नभएको आरोप लगाउँदै भने,‘तीन दलको अकमण्र्यताका कारण मुलुक अनिर्णयको बन्दी बनेको छ, यही अवस्था रह्यो भने मुलुक ठूलो द्धन्द्धमा फस्न सक्छ ।’
यसैगरी, नेपाली काँग्रेसका नेता महेन्द्र यादवले देउवाको नेतृत्वमा सहमतीय सरकार गठन भए मधेशको समस्याको समाधान समेत हुने विश्वास व्यक्त गरे ।
कांग्रेसका नेता यादवले आन्दोलनरत मधेशी मोर्चामात्रै नभएर छिमेकी तथा अन्र्तराष्ट्रिय समूदायले समेत देउवालाई नै विश्वास गर्ने बताउँदै यादवले देउवाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको न्यायोचित कार्यन्वयन हुने ठोकुवा गरे ।
नेकपा एमालेका नेता केशव बडालले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने स्पष्ट पारेका छन् ।
ओली अत्यधिक बहुमतबाट प्रधानमन्त्री भएको भन्दै उनले तत्काल राजिनामा दिनुपर्ने कुनै कारण नभएको समेत नेता बडालले दाबी गरे ।
नेकपा (माओवादी) केन्द्रका प्रभावशाली नेता दिनानाथ शर्माले राष्ट्रिय मुद्दा सम्बोधन गर्ने, चुनाव समयमै सम्पन्न गराउने, मधेश आन्दोलनको सम्बोधन गर्ने, भूकम्प पीडितहरुलाई लागि काम गर्ने र पूर्ननिर्माणको कार्यलाई सशक्त बनाउने लगायत महत्वपूर्ण कार्यहरु प्रभावशाली ढंगले गर्ने प्रतिबद्धता आए केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनेपनि आफ्नो पार्टीलाई कुनै आपत्ति नहुने स्पष्ट पारे ।



