तपाईं त आन्दोलनलाई समर्थन जुटाउन इन्डियातिर जानुभयो भन्ने समाचार आएको थियो, अहिले कता हुनुहुन्छ ?

तपाईंले अहिले सम्पर्क गर्नुभएको मोबाइल नम्बर (९८४१…) इन्डियाको हो र ? नेपालकै नम्बरमा इन्डियामा कसरी सम्पर्क भयो ? अहिले म किन इन्डिया जाने ? इन्डिया त शेरबहादुर देउवा गएका हुन्, प्रचण्ड गएका हुन्, माधव नेपाल र रामचन्द्र पौडेल पनि गएकै हुन् । उनीहरूले भारत गएर के भने ? एकजनाले त मेरा बाउ भारतीय हुन् भने । उनीहरू बाउ खोज्न भारत गएकै छन् । हाम्रा बाउ त नेपाली जनता हुन्, जो आन्दोलनमा छन् । त्यसैले म जान पाएको छैन । सिमाना नजिक छ, गए हुने हो, तर अहिले गएको छैन ।

मधेसमा आन्दोलन छ, तर नारा लगाउन जनता धेरै छैनन् । यता संविधानका धारा भने धमाधम पारित भइरहेका छन् । तपाईंहरूले अपेक्षा गरेजस्तो आन्दोलनको उभार उठेन, वार्ता पनि हुन सकेन, के सोच्दै हुनुहुन्छ अहिले ?

 

आन्दोलन नउठेको भए सरकारले सेना किन परिचालन गरेको छ ? कफ्र्यु कसका लागि लगाएको छ ? गोली किन हानिरहेको छ ? र, २८ जना सर्वसाधारणको हत्या किन भयो ? हो, सरकारले जस्तै मिडियाले पनि मधेसलाई आफ्नो ठानेन । यहाँका जनता सडकमा उत्रिएको देखेन । तर, सेना किन परिचालन गरिएको छ भनेर मिडियाले किन सोध्दैन ? हाम्रो ठूलो गुनासो छ ।

०६३ सालमा तपाईंकै नेतृत्वमा भएको आन्दोलनमा जनउभार थियो, तर यसपालि व्यापकभन्दा पनि हिंसात्मक भएको देखिन्छ, हिंसा रोक्न सशस्त्र प्रहरी वा सेना परिचालन गर्नु नाजायज हो ?

आन्दोलनकारीले हिंसा गर्न पाउनुपर्छ भनेर हामीले भनेका छैनौँ । यो विचारको लडाइँ हो । अधिकारको लडाइँ हो । यो लडाइँ राजनीतिक रूपमा लड्नुपर्छ । तर, राज्यका सुरक्षाकर्मी तराईमा के गरिरहेका छन् ? तपाईंले त्यो पनि हेर्नुपर्छ । घर–घरमा सुतेका मान्छेलाई उठाएर टाउकामा गोली हानिएको छ । आठ वर्षको बालकलाई मारिएको छ । किसानलाई लखेटिएको छ । महिलामाथि दुव्र्यवहार भएको छ । त्यो हिंसा हो कि होइन ? तर, त्यहाँ भएको ज्यादती दुनियाँले देख्न पाएको छैन । यो ठूलो दुर्भाग्य हो ।

तपाईंको लडाइँ शासकसँग हो । तर, कैलालीमा भालाले रोपेर र महोत्तरीमा एम्बुलेन्सबाट खोसेर प्रहरीलाई जसरी मारियो, तपाईंहरूको आन्दोलनप्रति पहाडिया सर्वसाधारण जनताको पनि सहानुभूति घट्दै गएको छ भन्ने महसुस गर्नुभएको छ ?

म फेरि भन्छु, यो पहाडिया र मधेसीको लडाइँ हुँदै होइन । प्रहरी र जनताको लडाइँ पनि होइन । ती त शासकहरू हुन् जसले जनतासँग लड्न प्रहरीलाई पठाएका छन् । जनता मार भन्दै ती बिचरा प्रहरीलाई अस्ति राणाहरूले बन्दुक दिएर पठाए, हिजो राजाहरूले पठाए, आज लोकतान्त्रिक भन्ने दलहरूले पठाइरहेका छन् । बिचरा प्रहरी जनतासँग लड्न बाध्य छन् । तपाईंले देख्नुभएन ? सुर्खेतमा एक साता आन्दोलन हुँदा एउटा प्रदेश थपियो । काठमाडौंमा हिन्दूवादीहरूले सडक जाम गर्दा पानीको फोहोराले हानिन्छ, तर मधेसी जनतालाई किन गोली हानिन्छ ? यो दृश्यले पहाडिया जनताको पनि मुटु अवश्य दुख्नुपर्छ ।

त्यहाँ प्रहरी मरोस् वा जनता, त्यो नेपाली हो । त्यो देख्दा हामीलाई आँसु आउँछ । हाम्रो तर्फबाट केही कमी–कमजोरी भएका छन् भने हामी जिम्मेवारी लिन्छौँ, त्यसको अनुसन्धान हामी पनि गर्दै छौँ । तर, मधेसीलाई बद्नाम गर्न र अधिकारको हाम्रो लडाइँ कमजोर पार्न शासकहरूले पनि षड्यन्त्र गरिरहेका छन् । घुसपैठ भएको छ । कुनै प्रहरीलाई मारेर हाम्रो अधिकार आउँछ भन्ने विश्वास हामीलाई छैन । तर, षड्यन्त्रपूर्वक यस्तो घटना गराइएको छ । हामी भन्छौँ– जनतासँगको लडाइँ होइन, शासनसँगको हो । पहाडिया होस् वा मधेसको, जनताबीच एकता हुनुपर्छ ।

तर, आन्दोलनको नेतृत्व गरिरहेका केही नेताले काठमाडौंले आवाज सुनेन भने मधेस नेपालबाट टुक्रिन्छ भनिरहेका छन्, यस्तो एजेन्डाले सारा नेपालीको सद्भाव कसरी जित्न सक्छ ?

काठमाडौं त्यसै बनेको हो ? गोपालवंशी र लिच्छविहरू कहाँबाट गए ? मधेसबाट होइन ? बुद्ध कहाँका हुन् ? मधेसका होइनन् ? जनक र सीता कहाँका हुन् ? मधेसका होइनन् ? जसले काठमाडौं बनाउन खुन–पसिना बगाए, जसले नेपाललाई संसारभरि चिनाए, उनीहरू नै नेपालबाट टुक्रिने ? त्यो पनि एक–दुईजना हुटिट्याउँले हल्ला चलाउँदैमा ? ती हुटिट्याउँलाई कसले परिचालन गरेको छ ? त्यही काठमाडौंमा बस्ने शासकले । हाम्रो राष्ट्रियतामाथि प्रश्न उठाउने दुस्साहस कसैले नगरोस्, हाम्रो लडाइँ हाम्रो देशभित्रको हो । हाम्रो माग हाम्रा शासकसँग हो । तर, हामीलाई बद्नाम गर्न हाम्रै आन्दोलनमा केही घुसपैठ भएको छ, घुसपैठ बन्द होस्, ठूला भनेका दलका नेताहरू मधेसी जनताका पनि नेता हुन् भने तिनीहरू मधेस झरून्, जनतालाई आन्दोलन छाडेर घर जान आग्रह गरून्, तिनीहरू मधेस झर्न सके र तिनले जनतालाई कन्भिन्स गर्न सके भने हामी पनि मानौँला ।

तपाईं पनि जनताबाट निर्वाचित प्रतिनिधि हो, आफूलाई मत दिने जनताको प्रतिनिधित्व गर्दै काठमाडौं आएर संविधानसभामा बोल्न तपाईंलाई कसले रोकेको छ ? लोकतान्त्रिक सिद्धान्त मानेपछि त्यसको पद्धति मान्नुपर्छ कि पर्दैन ? मधेसबाटै पनि तपाईंले भन्दा ती दलले धेरै मत ल्याएका हुन् कि होइनन् ?

हो, हामीले भन्दा तिनले धेरै मत ल्याएका हुन् । तर, तिनलाई जिताउने जनता नै अधिकारको माग गर्दा गोली खाएर सहिद भएका छन्, घाइते भएर अस्पतालमा छन् । प्रहरीको आतंकले घर छाडेर बिहारतिर भागेका छन् । राज्यआतंकले मधेसमा यति ठूलो त्रास छ कि बिहारका ठाउँ–ठाउँमा नेपाली शरणार्थीका शिविर खडा हुन थालेका छन् । बिहारको मधवापुर र सुरसन्दमा खडा भएका शिविरमा नेपाली बसिसके । यो देशको बेइज्जत हो कि होइन ? यो अन्तर्राष्ट्रिय मुद्दा हुन्छ कि हुँदैन ? यसको जिम्मा कसले लिने ? सरकारले लिन्छ ?

नेपाली जनताको आन्दोलन नेपालको सरकारसँग हो । भारतमा शिविर खडा गरेर नेपाली जनताको जित कसरी होला ?

जित र हारको कुरा पछाडि आउँछ, पहिले त ज्यान जोगिनुपर्‍यो । अहिले तराईमा घर–घरमा गएर जनतालाई त्रसित बनाउने र भगाउने काम भएको छ । महिलालाई दुव्र्यवहार गर्ने काम भएको छ अनि ज्यान जोगाउनुपरेन ? भुटानी जनताले के नाजायज माग राखेका थिए ? तर, उनीहरू आफ्नै देशमा किन टिक्न सकेनन् र पचासौँ हजारको संख्यामा शरणार्थी किन बन्नुपर्‍यो ? नेपाली शासकहरू नेपाली जनतालाई देश छोडेर हिँड्न बाध्य बनाउँदै छन् । भुटानका टेकनाथ रिजाललाई जस्तै हामीलाई पनि देशबाट धपाउने षड्यन्त्र गर्दै छन् ।

तपाईंहरूले यति जोड गरेर आन्दोलन गरेको ठूला तीन दललाई सुनाउन हो । तर, ३५ दिन आन्दोलन गर्दा पनि संवादसमेत हुन सकेन । संविधान त आउने नै भयो । अब कतिन्जेल आन्दोलन गर्नुहुन्छ ? तपाईंहरू त न सडकमा न सदनमा हुने अवस्था देखियो नि ?

अहिले जुन संविधान ल्याउन खोजिएको छ त्यो आओस् कि नआओस्, हामीलाई मतलब छैन । अहिले भर्खर ३५ दिन भएको छ । हाम्रो लडाइँ ३५ वर्ष चल्न सक्छ । किनभने हामी सदियौँदेखि दबिएका छौँ । त्यसैले रातारात अधिकार पाएनौँ भनेर हिम्मत हार्नेछैनौँ । फेरि यो संविधान आएर के हुन्छ ? यस्ता संविधान ६ पटक आइसके, के तिनले नेपाली जनताको अधिकार सुनिश्चित गर्न सके ? राजाको संविधान हेरेको होइन, प्रजातान्त्रिक संविधान हेरेको होइन ? फेरि प्रजातन्त्रको नाममा अर्को संविधान पनि ल्याइएको थियो, तर त्यसपछि पनि झन ठुल्ठूला आन्दोलन भए कि भएनन् ? फेरि पनि आन्दोलन चल्छन् किनभने यसपालि त कफ्र्यु लगाएर, सेना सडकमा उतारेर र जनाको निधारमा बन्दुक ताकेर संविधान ल्याइँदै छ । शान्ति र सहमतिमा ल्याइएका संविधान त धुलिसात् भए । यसरी ल्याइएको संविधान टिक्ला भनेर कसैले दीपावली गर्छ भने गरोस्, तर त्यसले जनताको हातको मसाल खोस्न सक्नेछैन ।

जहिलेसम्म आन्दोलन गरे पनि बिसाउने वेलामा सम्झौता गर्नैपर्छ । सम्झौता गर्नुपर्छ भने अहिले किन नगर्ने ? आखिर सरकारले पटक–पटक पत्राचार गरेको हो । संविधानसभासमेत स्थगित भएको हो । तपाईंहरू संवाद गर्न पनि किन सर्त राखिरहनुभएको छ ?

अस्ति दुई दिन संविधानसभा स्थगित भयो भनेर प्रचार भयो । ती दलका नेताहरू वार्ताप्रति सकारात्मक थिए भने किन त्यस्तो झुट प्रचार गर्छन् ? शुक्रबारसम्म बैठक बसेकै थियो । आइतबारबाट मतदानै सुरु गरियो । दुई दिन स्थगित कसरी भयो ? बीचमा शनिबार एक दिन थियो । त्यो पनि उनीहरूलाई थकाइ मेट्न र लुगासुगा धुन बिदा मिलाइएको हो । यता, मधेसमा कफ्र्यु लगाउने, सेनालाई मार्चपास गराएर जनता तर्साउने अनि हामी अपमान सहेर वार्तामा जानुपर्ने ? वार्ताप्रति सकारात्मक हुन् भने आठ वर्षसम्म कुम्भकर्णजस्तै सुतेका नेताहरू अहिले किन तातेका छन् ? किनकि तिनीहरूमा अहंकार छ । उनीहरूलाई अहंकारबाट मुक्त पार्न हामी आन्दोलन गर्न बाध्य छौँ ।

यति लामो आन्दोनल गर्नुभयो, तर खास माग के गर्नुभएको छ भनेर जनताले स्पष्ट बुझेका छैनन्, के भयो भने तपाईंहरूको सर्त पूरा हुन्छ ? र, आन्दोलन रोकिन्छ ?

अरू केही गर्नुपर्दैन । नेपालको अन्तरिम संविधान लागू गरिदिए पुग्छ । त्यसको धारा १३८ मा स्वायत्त मधेस प्रदेश हुनेछ भनिएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिखित रूपमा सम्झौता गरेपछि संविधानमा त्यो व्यवस्था गरिएको हो । संविधानको इज्जत गर्नु राज्यको कर्तव्य हो कि होइन ? इज्जत गरोस्, हामी आन्दोलन बिसाएर छलफलमा फर्कन्छौँ । १० हजार मधेसीलाई सामूहिक रूपमा सेनामा भर्ती गराउँछु भनेर राज्यले सम्झौता गरेको होइन ? आन्दोलन उठेको वेलामा सम्झौता गर्ने अनि त्यसलाई कार्यान्वयन नगर्ने हो भने नागरिकले के गर्ने ? फेरि आन्दोलन गर्ने हो । हामी त्यही गरिरहेका छौँ ।

तपाईंहरूले संविधानसभा छाड्नुभएको हो । असोज ३ बेलुका ५ बजे संविधान जारी हुन्छ र संविधानसभा विघटन हुन्छ । त्यसपछि संसद्मा त तपाईंहरू आउनुहुन्छ ?

त्यसपछि रणनीतिको विषयमा हामीले छलफल गर्न बाँकी छ । रणनीति त्यतिवेलै बन्छ ।

उमेश चौहान/ नयाँ पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.