हुलाकी न्यूज, काठमाडौं १५ जेठ । मधेश विकासको मेरुदन्ड मानिएको हुलाकी राजमार्ग अहिलेसम्म निर्माण नहुनुमा नेपाल सरकार मात्रै होइन नेपाली मिडिया पनि पुर्वाग्राही रहेको देखिन्छ ।
पछिल्लो पटक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भएको हुलाकी राजमार्ग सम्बन्धी दुई पक्षीय सम्झौता त्रुटी पूर्ण रहेको छ । नेपाली पक्षलाई सम्झौता त्रुटी पुर्ण छ भन्ने जानकारी हुँदाहुँदै पनि उक्त सम्झौता गरिएको छ ।
भारत–नेपालबीच भएको सम्झौतामा देखिएका त्रुटी बारे छलफल गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले छलफल गर्दा नेपाली मिडियाहरुले त्यसको विरोध गरेका छन् ।
नेपाल–भारतबीच भएको हुलाकी रागमार्ग सम्बन्धी सम्झौताका विषयमा चासो राख्नु अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको नियमाबली अन्तरगत रहेको समितिका सभापति प्रभु साह बताउँछन् ।
तर नेपाली मिडियाहरुले हुलाकी राजमार्गलाई ओझेलमा पार्न हुलाकी राजमार्ग सम्बन्धी चासो राख्नेहरुलाई हतोत्साहित गर्ने गरेको साहले आरोप लगाए ।
साहले जारी गरेको प्रेस विज्ञप्तिमा भनेका छन्,‘कान्तिपुर दैनिकको जेठ ११ गतेको समाचार र १२ गतेको सम्पादकीयमा उल्लेख भएको हुलाकी सडक अन्य सडकभन्दा परोनो र महत्वपूर्ण राष्ट्रिय गौरवको सडक हो । भारतीय सहयोगमा निर्माण गरिने हुलाकी सडक नेपाल र भारतबीच भएको सम्झौताको गलत प्रावधानकै कारण हुलाकी सडकको निर्माण कार्य अहिलेसम्म अल्झेर अवरुद्ध भएको कुरा घाम जतिकै छर्लग छ । यस अवस्थामा हुलाकी सडक आयोजनासँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्झौताको विषयमा यस समितिले चासो दिनु क्षेत्राधिकारभन्दा बाहिरको विषयको रुपमा प्रचार गर्नु के जायज छ ? के अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरु यस समितिको क्षेत्राधिकार अन्तरगत होइन ? यसरी क्षेत्राधिकारको विषयमा स्पष्ट हुँदाहुँदै पनि गोलमटोल ढंगले समितिप्रति भ्रम छर्ने कार्य निन्दनीय छ ।’ (हेर्नुस् समितिको विज्ञप्ति )
आर्थिक पक्षमा गोलमाल

हुलाकी राजमार्ग निर्माणमा १४ अर्व लाग्ने अध्ययनले देखाएको छ । यसअघिको सम्झौतामा १४ अर्व दिने सहमति पनि भएको छ । तर पछिल्लो पटक भएको सम्झौतामा ८ अर्व मात्र भारतले दिने सहमति भएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति साह भन्छन्,‘सरकारले किन यस्तौ सम्झौता गरेको छ ? आर्थिक पक्षमा असम्झदारी भएको छ । सबै कुरा नेपाली पक्षलाई थाहा हुँदाहुँदै नियतबस यस्तो सम्झौता गरिएको छ । हुलाकी राजमार्ग बन्न नदिने षड्यन्त्र हो यो ।’
हुलाकी सडकका परामर्श दाताहरु पनि भारतीय नै हुने सम्झौतामा उल्लेख गरिएको छ । भारतीय परामर्शदाता चयन भएपछि मात्र अन्य कामहरु गरिने सम्झौता गरिएको छ । (हेर्नुस् सम्झौता )
जग्गा अधिग्रहणका विषयमा पनि सम्झौतामा गोलमाल गरिएको छ ।

Press Release




