Dinabhadri
हुलाकी न्यूज, काठमाडौं १३ जेठ । मधेशका लोक नायक दीनाभद्रीका विषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा मैथिली साहित्य परिषद् राजविराजको संयोजनमा मधेशका लोक नायक दीनाभद्रीको विषयमा बृहत अध्ययन, अनुसन्धान एवम् विचार मन्थन हुने जनाइएको छ ।

जेठ १६ गते आइतबार हुने अन्तरक्रिया बारे प्रतिष्ठानका प्राज्ञ रमेश रञ्जनका अनुसार शुक्रवार कटैया गाविसमा अवस्थित दीनाभद्री स्थलको स्थलगत अध्ययन एवम् अवलोकन गरिनेछ ।

त्यस्तै शनिवार जेठ १५ गते लोक नायक दीनाभद्रीको लोकगाथा स्थानीय पारम्परिक लोक गायक सातैन रामको प्रस्तुतीलाई श्रव्य दृश्य रेकर्डिङ्ग गरिनेछ । आइतवार आयोजन हुन लागेको उक्त कार्यक्रममा दीनाभद्रीको जीवनको विविध पक्षबारे छुट्टा–छुट्टै कार्यपत्र प्रस्तुत गरिने रञ्जनले बताए ।

गोष्ठीमा भारतको विहार नाट्य एकेडेमीका सचिव समेत रहेका प्रसिद्ध साहित्यकार डा.तारानन्द वियोगी, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय मैथिली विभागाध्यक्ष प्रा. परमेश्वर कापडि, मैथिली परिषद राजविराजक पूर्व अध्यक्ष देवेन्द्र मिश्र र पत्रकार एवम् लेखक श्यामसुन्दर शशीद्वारा कार्यपत्र प्रस्तुत हुने प्राज्ञ रञ्जनले जानकारी दिए ।

स्थानीय न्यूज टुडेका अनुसार सोही कार्यक्रम प्रा.डा. सुनिलकुमार झा, इतिहासविद् हरिकान्तलाल दास, प्रा. अमरकान्त झा, प्रा. डा. पीताम्बरलाल यादव, भारतका साहित्यकार रघुनाथ मुखिया, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्षहरुलगायतका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने उनले बताए ।

कार्यक्रममा लोकनायक दीनाभद्रीको विविध पक्षबारे विचार मन्थन हुने मैथिली साहित्य परिषद्का सविच समेत रहेका कार्यक्रम संयोजक श्यामसुन्दर यादव ‘पथिक’ले जानकारी दिए । स्मरण रहोस् प्रतिष्ठानद्वारा चार वर्ष अघि मैथिली साहित्य परिषदको संयोजनमा मिथिलाको लोपोन्मुख जाति पमरियाको विषयमा समेत विचार मन्थन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.