
हुलाकी न्यूज, भैरहवा १२ जेठ । प्रहरी हिरासतमा रहेका स्वतन्त्र मधेश गठबन्धनका २० जना मध्ये अधिकांश कार्यकर्ताहरुको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।
बुद्ध जयन्तीका दिन लुम्बिनीबाट पक्राउ परेका ३१ जना मध्ये २० जनालाई हिरासतमा राखिएको छ । हिरासतमा राखिएकाहरु आमरण अनसनमा बसेका छन् ।
हिरासतमा राखिएकाहरुलाई गैरमधेशी थुनुवाहरुबाट कुटपिट गराइएको प्रहरी हिरासतमा रहेको इरफान शेखले बताएका छन् ।
अनसनमा बसेका शेखसहितलाई बुधबार गैरमधेशी थुनुवाहरुले कुटपिट गरे पछि उनीसहित चन्द्रशेखर सोनार पनि अचेत भएका थिए ।
शेख र सोनारलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । अस्पतालमा हुलाकी न्यूजकर्मीसँग कुराकानी गर्दै शेखले प्रहरी हिरासतमा प्रहरी र गैरमधेशी थुनुवाहरुले कुटपिट गरेको बताए ।
उनले प्रहरीहरुले ज्यान मार्ने धम्की बारम्बार दिएको र गैरमधेशी थुनुवाहरुलाई कुट्न उक्साएको बताए ।
यता मंगलबार पनि चार जना कार्यकर्ताहरु प्रहरी हिरासत मै बेहोस भएका थिए । उनीहरुलाई उपचार गर्न अस्पताल भर्ना गरिएको थियो । उपचार पछि तीन जनालाई हिजो नै थुनामा लगिएको थियो ।
रिहा गरिएका ११ जना मध्ये अधिकांशलाई पनि कुटपिट गरिएको उनीहरुले बताएका छन् । हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार प्रहरीले हिरासतभित्र अत्याधिक याताना दिएका थिए ।
यता स्वतन्त्र मधेश गठबन्धनले राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी दिएको छ ।
त्यस्तै स्थानीय मानव अधिकारकर्मीहरुले दिएको जानकारी अनुसार हिरासतमा रहेका कार्यकर्ताहरुको अवस्था विग्रिदै गएको प्रति कुनै निकाय चिन्तित नरहेको बताएका छन् । उनीहरुले तत्काल अन्सन तोडाउन आग्रह गरेका छन् ।





Jay Madhesh Jay CK Raut