
जनकपुरधाम ११ जेठ । सरोकारवालाको उदासिनताको कारण जनकपुरको ऐतिहासिक सरोवरहरु पुनः अतिक्रमणको चपेटामा पर्न थालेको छ ।
करिव डेढ वर्ष अघि वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले जिल्ला प्रहरी कार्यालय र गुठी संस्थान कार्यालय जनकपुर संग समन्वय गरेर खाली गरेको ऐतिहासिक सरोवरहरु फेरी अतिक्रमणको चपेटामा परेको हो । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद, गुठी संस्थान तथा प्रहरी प्रशासनको लापरवाही तथा शौन्दर्यीकरणको अभावले जनकपुरको देवान पोखरीका साथै गोरधोई, तेलहामरहा, रामसागर, तेलहामरहा, दशरथ तलाउ लगायतका सरोवर पुनः अतिक्रमणमा परेका हुन् ।
अन्य सरोवरहरुमा अतिक्रमणको क्रम सुरु भएपनि देवान पोखरीको अधिकांश क्षेत्रमा घरटहरा तथा झोपडी निर्माण भएको छ । पोखरीको छेउमा बांकी रहेका घरपटटीहरुले समेत इटा तथा बांस तेर्साएर कब्जा गरेका छन् । कतिपयले सामान्य झोपडी बनाएर गोठ निर्माण गर्नुका साथै बास पनि बस्न थालेको भएपनि सरोकारवालाले खासै ध्यान नदिएको स्थानियहरुको गुनासो छ । सुरुवामा सरोकारवालाहरुले ध्यान नदिकाले अतिक्रमण गर्नेहरुको मनोबल बढदै गएको स्थानिय एक व्यवसायीले बताए ।
अतिक्रमण मुक्त अभियानको क्रममा देवान पोखरीमा अन्य घरहरुलाई भत्काइए पनि संगै रहेको एकटा घरलाई भत्काइएको थिएन । अतिक्रमण मुक्त अभियानमा भेदभाव भएको स्थानियहरुले विरोध जनाएपछि अभियान स्थगित गरिएको थियो । उक्त घरपटटीले रकमको चलखेलमा लालपुर्जा बनाएको आरोप लाग्दै आएको छ ।
गुठीको जमिन कसैले व्यक्तिगत नाममा गर्न नपाइने प्रावधान भएपनि मोटो रकमको चलखेलमा गुठी संस्थान, प्रहरी प्रशासन तथा मठमन्दिरका महन्थको मितिभगतमा बिग्हौ जमिन व्यक्तिको नाममा पास भएको पाइएको छ । गुठी संस्थानले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद तथा जिल्ला प्रहरी कार्यालयको उपस्थितिमा पुनः अतिक्रमण मुक्त अभियान थाल्ने भनी सर्वदलिय बैठक गरेपनि अभियान कहिलेबाट सुरु हुने भनी यकिन हुन सकेको छैन । छलफल यता जिल्ला प्रहरी कार्यालय तथा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले पनि स्थानिय राजनितिक दल, नागरिक समाज, संचारकर्मी लगायतसंग छुटटा छुटटै छलफल गरिसकेको छ ।
तर अतिक्रमण मुक्त सरोवरहरु पनि अतिक्रमणको चपेटामा परेपछि स्थानियहर आश्चर्य चकित भएका छन् । सरोकारवालाहरुले अतिक्रमण मुक्त अभियान पुनः थाल्ने भनी स्थानिय राजनितिक दल, संचारकर्मी लगायतको सहयोगको अपेक्षा गरिरहेको भएपनि अतिक्रमण मुक्त सरोवरहरु नै पुनः अतिक्रमणमा पर्न थालेकाले स्थानियहरुले सरोकारवालाहरुको कार्यप्रति आश्चर्य व्यक्त गरेका हुन् ।
करिव डेढ वर्ष अघि जिल्ला प्रहरी कार्यालय, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद तथा गुठी संस्थान जनकपुरको सहकार्यमा देवान पोखरीको २६, महाराज सागरको १५, तैलघृत सरको ३८, मण्डन सरको २८, दिर्घिका सरको ४१, कपालमोचनी सरको १४, गोरधोइको ४१, लक्ष्मण सरको १४, रामसागरको २७ र अरगजा सरको २७ गरी कुल १ सय ७१ व्टा घर टहरा भत्काइएको थियो ।
पोखरी नै पोखरीको शहरको रुपमा जनकपुरलाई चिनिएपनि प्रहरी प्रशासन, गुठी संस्थान तथा विभिन्न मठमन्दिरका महन्थको मिलिभगतमा गुठीको स्वामित्वमा गरेको पोखरी तथा सार्वजनिक स्थल बिक्रिवितरण भएर अतिक्रमणमा परेको स्थानियहरुको दावी छ ।
आजको जनकपुर टुडेमा प्रकाशित छ ।



