
हुलाकी न्यूज, काठमाडौं ११ जेठ । केही दिनअघि आन्दोलनको कार्यक्रम अन्तरगत आमहड्तालको घोषणा गरेको थरुहट–थारुवान संयुक्त संघर्ष समितिले आमहड्तालको कार्यक्रम फिर्ता लिएको छ ।
काठमाडौंमा आइतबार र सोमबार भएको संघर्ष समितिको भेलाले थरुहट क्षेत्रमा रोपाई गर्ने समय भएकोले आमहड्तालको कार्यक्रम पछि सार्ने निर्णय गरेको छ ।
जेठ ३१ गते आमहड्ताल गर्ने घोषणा गरेको संघर्ष समितिले आमहड्ताल बाहेकका कार्यक्रम यथावत राखेको छ ।
अन्य कार्यक्रम मध्ये काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा सर्वपक्षीय बैठक गरेर आन्दोलनलाई शसक्त बनाउने निर्णय गरेको छ ।
त्यस्तै थारुका विभिन्न पक्षहरु जस्तै नागरिक समाज, पत्रकार, समाजसेवी, कमलरी, कमैया, भलमन्सा, युवा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने घोषणा पत्रमा उल्लेख छ ।
भेलाले काठमाडौंलगायत प्रत्येक जिल्लामा प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालयमार्फत् जुलुस, धर्नासहित ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
त्यस्तै संघर्ष समितिको अवधारणा, माग मुद्दाको आवश्वयकता एवं औचित्यबारे विभिन्न पक्षसँग छलफल चलाउने घोषणा पत्रमा उल्लेख छ । भेलाले टीकापुर घटना सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाबीच अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
संघर्ष समितिको केन्द्रीय भेलाले १५ बुँदे घोषणा पत्र पनि जारी गरेको छ । भेलामा नेता किशोर विश्वासले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ९ बुँदे आन्दोलनका कार्यक्रम प्रस्ताव गरेका थिए ।



