
हुलाकी न्यूज, काठमाडौं ११ जेठ । व्यवस्थापिका संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले हुलाकी राजमार्गको निर्माण चाँडै सक्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतवार बसेको समितिको बैठकमा सभापति प्रभु साहले आवश्यक बजेट तत्काल व्यवस्था गरी समयमै निर्माणको काम सक्न सरकारलाई निर्देशन दिएका हुन् ।
सरकारका विभिन्न निकायका बीचमा समन्वय र राजनीतिक एकता अभाव एवं आवश्यक बजेट विनियोजन नभएका कारण निर्माण अलपत्र परेको निष्कर्ष निकाल्दै समितिले यस्तो निर्देशन दिएको हो ।
समितिको बैठकमा सांसद्हरूले सरकारले हुलाकी राजमार्गलाई कम महत्व दिएका कारण अहिलेसम्म निर्माण अलपत्र परेको आरोप लगाएका थिए ।
मधेशको लाइफलाईनको संज्ञा दिइएको हुलाकी राजमार्गको १७ सय ७० किलोमिटरमध्ये हालसम्म ७० किलोमिटर मात्र कालोपत्रे हुन सकेको छ ।






