
हुलाकी न्यूज, काठमाडौ १० जेठ । हालै बढाइएको ट्राफिक जरिवाना तत्काल फिर्ता लिन सरकारलाई अल्टिमेटम दिइएको छ । ट्राफिक जरिवानामा भएको मनपरी बढोतरीको विरोध गर्दै सवारी व्यवसायहीहरुले पुरानै जरिवाना काम गर्न माग गरेका छन् ।
नेपाल राष्ट्रिय यातायात ब्यवसायी सर्वोच्च महासंघले सरकारले सवारी तथा यातायात ब्यवस्था ऐन संसोधन गरी बृद्धि गरेको ट्राफिक जरिवाना शुल्क तत्काल फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएको छ ।
महासंघले सोमबार पत्रकार सम्मेलन गरी सरोकारवालाहरुसँग छलफल नै नगरी सम्पूर्ण ब्यवसायलाई नै धारासायी बनाउने गरी गरिएको संसोधनले गरिब यातायात मजदुर ब्यवसायीहरुलाई झनै गरिब बनाउने भन्दै तत्काल संसोधन गरेर पुरानै ब्यवस्थामा ल्याउन माग गरेको हो ।
यसअघि २५ देखि २०० रुपैया सम्म जरिवाना रहेकोमा ऐनको दफा १६४ संसोधन गरी ५ सय देखि १५ सय सम्म बनाईएको छ ।
महासंघले जरिवाना शुल्क बृद्धिको विषयमा सरकारलाई अल्टिमेटम दिए पनि त्यसको बेवास्ता गर्दै लागु गरेको विषयको विरुद्धमा यातायात ब्यवसायी र मजदुरहरुले आगामी जेठ १३ गते सरकारलाई चेतावनी स्वरुप बन्दको आब्हान गरेको उल्लेख गर्दै आफूहरुको मागमा तत्काल सुनवाई नगरी आगामी दिनमा अझै कडा आन्दोलन थाल्ने चेतावनी दिएको छ ।



