
हुलाकी न्यूज, काठमाडौं १० जेठ । स्वतन्त्र मधेश गठबन्धनका ३२ जना कार्यकर्ताहरुमाथि सार्वजनिक अपराधको मुद्दा दायर गरिएको छ भने प्रहरी हिरासतभित्र एसपीको कुटाईबाट एक जना कार्यकर्ता सख्त घाइते भएका छन् ।
लुम्बिनीमा विरोध प्रदर्शनका क्रममा पक्राउ परेका मध्ये २० जनामाथि सार्वजनिक अपराधमा ७ दिनका थुनामा राख्न म्याद थप गरिएको छ । त्यस्तै १० जनालाई साधारण तारेखमा रिहा गरिएको छ ।
भैरहवामा प्रहरीको हरासतमा एसपीको कुटाईबाट शख्त घाइत भएका कृष्णमोहन यादवको उपचार अस्पतालमा भइरहेको स्वतन्त्र मधेश गठबन्धनका सहसंयोजक कैलाश महतोले हुलाकी न्यूजलई बताएका छन् ।
त्यस्तै प्रहरी हिरासतमा गठबन्धनका कार्यकर्ताहरुमाथि डर त्रास दिने तथा यातना दिने काम भइरहेको महतोले बताए ।
यता सर्लाहीको सिसौटियाबाट पनि पक्राउ परेको १२ जना कार्यकर्ताहरुमाथि सार्वजनिक अपराधको मुद्दा दायर गरिएको छ । उनीहरु गाउँको सरसफाई गठबन्धनद्वारा गर्ने विषयमा छलफल गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको महतोले जनाए । उनीहरुलाई पनि सात दिन म्याद थप गरिएको छ ।



