
हुलाकी न्यूज, जनकपुरधाम ९ जेठ । विकास निर्माणमा हुने गरेको भ्रष्टाचार नियन्त्रणका लागि जनकपुरधाममा नगर विकास दबाब मञ्च गठन गरिएको छ ।
विकासे योजनामा मनामानिढंगले कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय पत्रकारहरुले भ्रष्टाचार गर्ने गरेको भन्दै दबाब मञ्च गठन गरिएको छ ।
जनकपुर उपमहानगरपालिका भित्रमा विकास निर्माण कार्यको नाममा हुने गरेको ब्रह्लुट तथा गुणस्तरहिन कार्यको भण्डाफोर गर्न नगर विकास दबाब मंचको घोषणा गरिएको संयोजक जगदिश महासेठले बताएका छन् ।
शनिवार अपरान्ह जनकपुर उपमहानगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको अयोजना गरी मंचको घोषणा गरिएको हो ।
स्थानीय पत्रिकाका अनुसार गौ संरक्षण मंच नेपालको सक्रियता गठन गरिएको नगर विकास दबाब मंचको संयोजकमा गौ संरक्षण मंच नेपालका केन्द्रिय अध्यक्ष जगदिश महासेठलाई चयन गरिएको छ । गौ संरक्षणको केन्द्रिय बैठकले महासेठको संयोजकत्वमा ४१ सदस्यीय मंचको घोषणा गरिएको हो ।
मंचका संयोजक महासेठका अनुसार जिविस तथा उपमहानगरपालिकाद्वारा नगर विकासमा हुने गरेको ढिलासुस्ती, गैरसरकारी संस्थाले गर्ने गरेको अनिमितता, गुठी संस्थानले गर्ने गरेको अनियमितता लगायतको काममा दबाब दिनुका साथै भण्डाफोर अभियान चलाइनेछ । मंचलाई वडा तथा गाउंमा समेत विस्तार गर्ने लक्ष्य सहित कार्य अगाडि बढाइएको जनाइएको छ ।



