
हुलाकी न्यूज, काठमाडौं ६ जेठ । जनकपुरधामका व्यापारी तथा सञ्चार उद्यमी अरुण सिंघानिया हत्या काण्डमा प्रहरीको अनुसन्धान पुनः बाझिएको छ ।
प्रहरीको अनुसन्धानमा एक ठाउँमा भनिएको छ सिंघानियाको हत्याका लागि सुटरहरुलाई रामा होटलको रुम नम्बर २१० मा हतियार दिइएको छ भने अर्को ठाउँमा सदभावना पार्टी कार्यालयमा हतियार दिइएको बताइएको छ ।
संजय साहले हत्या गराएको आश्य निकाल्दै प्रहरीले अनुसन्धान थाले पनि प्रहरीको अनुसन्धान बाझेको छ । प्रहरीले तयार गरेको घटना विवरणमा सुटरहरुलाई रामा होटलमा हतियार दिएको भनिएको छ तर मनक लामाले संजय साहले सद्भावना पार्टी कार्यालयमा हतियार दिलाएको बयानमा बताएका छन् । ज्ञात रहोस् सिंघानिया हत्या काण्डका बेला संजय साह सदभावना पार्टीमा नभई विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)मा थिए ।
संजय साहका भाई डा.रामकुमार साहले जारी गरेको प्रेस विज्ञप्तिमा मनक लामालाई दबाबमा ल्याएर प्रहरीले संजय साहलाई फसाउन खोजिएको जनाएका छन् । उनले लामाको बयानलाई तथ्यगत रुपमा खण्डन गरेका छन् ।





