
हुलाकी न्यूज, जनकपुरधाम ६ जेठ । जनकपुरधामको परिक्रमा सडक गुणस्तरहिन रुपमा निर्माण हुन लागेको भन्दै स्थानीयबासीहरुले आपत्ति जनाएका छन् ।
जनकपुरका स्थानीयवासीहरुले उक्त सडकलाई गुणस्तरीय बनाउन जिल्ला प्रशासनलाई दबाब दिदै ज्ञापन पत्र बुझाएका छन् ।
सडक डिभिजन कार्यालयले निर्माण गरिरहेको उक्त सडक गुणस्तरहिन तरिकाले भैरहेको भन्दै स्थानियहरुले बुधबार बिरोध जनाएका छन् ।
पिडारी चौकदेखि पश्चिम केही दुरीसम्म तथा भ्रमरपुरा चोकदेखि पश्चिम केही दुरीसम्मको नाला तथा सडक गुणस्तरहिन निर्माण हुने गरेको स्थानियहरुले आरोप लगाएका छन् ।
स्थानीय पत्रिका जनकपुर टुडेका अनुसार सडक निर्माण कार्यमा गडबढी भएको भन्दै स्थानियहरुले विरोध जनाउंदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाइएको छ ।
जनकपुरका समाजसेवी तथा नागरिक समाजका अगुवा अमरचन्द्र अनिलको नेतृत्वमा संजिव कुमार राय, भरत सिंह, रविन्द्र पाण्डे, रंजित कुमार सिंह, मुकेश कुमार यादव, प्रविण कुमार यादव लगायतले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराएका हुन् ।
सडक तथा नाला निर्माण कार्यमा तत्कालै ध्यान नदिइए द्वन्द हुन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई चापागाईलाई ध्यानाकर्षण गराइएको अगुवा अमरचन्द्र अनिलले बताए । सडक तथा नाला निर्माणमा कार्यमा सिमेन्टको मात्रा कम भएकोले लाखौ रकम अनियमितता भएको स्थानियहरुको आरोप छ । गुणस्तरहिन सडक तथा नालाको कारणले सामान्य पानी परेपनि समस्या हुने गरेको स्थानियहरुको भनाई छ ।



