रामरिझन यादव

विगत एक महिनाभन्दा वढी समयदेखि मधेशमा जारी आन्दोलनमा अहिलेसम्म ३० जनाले ज्यान गुमाइसकेका छन् । सैयौ घाइते भएका छन् । कैयांैलाई पूर्णरुपमा उपचार हुने सम्भावना छैन । खुलेयाम नरसंहारको क्रम जारी छ । वीरगंज, जलेश्वर र जनकपुरमा घटेको घट्ना यसको ज्वलन्त उदाहरण हो । एकातिर प्रहरी दमनले पराकाष्ठा नाघेको छ भने अर्कोतर्फ शान्तिपूर्ण प्रदर्शन पनि हिंसात्मक बन्दै गएको छ ।

प्रथम मधेश आन्दोलनमा ज्यान गुमाएकाहरुको हराहरीमा शहीदहरुको संख्या पुग्दैछ । तरपनि आन्दोलन रोकिने कुनै सम्भावना देखिन्न । वार्ताको लागि फालिएको कार्ड औचित्यहीन सावित हँदैछ । यस्तो विषम, प्रतिकूल तथा संकटको घडीमा शोषित पीडित नेपाली जनतामा भरपर्दो मुक्तिको संदेश प्रवाहित गर्न सफल एकीकृत नेकपा(माओवादी)को भूमिकाप्रति मुक्तिकामी जनताले कान ठाडो पार्नु स्वभाविक हो ।

खासगरी विगतमा माओवादीले नेतृत्व गरेका विघठित तीस दलीय मोर्चाका पमुख सहभागीहरु नै आन्दोलनरत रहेको अवस्थामा माओवादीको अहिलेको गतिविधि मधेशका लागि चासोको विषय बन्नु पुगेको छ । त्यसैले माओवादी नेतृत्वपंक्ति संविधान निर्माणको प्रश्नमा जतिसुकै दृढ भएपनि समयकाल र परिस्थितिले उसलाई मुक्तिकामी जनताको भावनावाट अलग पार्न सकिरहेको छैन ।

यिनै कुरालाई आत्मसात गर्दै उसले एकातिर प्रारम्भिक मस्यौदादेखि नै नोट अफ डिसेन्टढ (मतभेद र असहमति)लेख्दै आइरहेको छ भने अर्कोतर्फ उसले आफ्नो भातृ संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल(क्रान्तिकारी)लाई मधेशमा आन्दोलन गर्न निर्देशन दिएको छ ।
नेपाली शोषित पीडित जातजाति, भाषाभाषी, लिङ्ग, वर्र्ग, क्षेत्रका हजारौ जनताको वलिदानवाट प्राप्त गरेको उपलव्धिलाई संस्थागत गर्न पार्टीले संविधान प्रक्रियामा सहभागी भएपछि यसलाई कतिपयले माओवदीको द्वैध चरित्र भनेर व्यख्या गरिरहेका छन् ।

मूलतः एकीकृत माओवादीको यसप्रकारको रवैया मधेशवादीहरुको लागि असहनीय र अस्वभाविक हुन पुगेकोछ । किनकी दोस्रो संविधान सभामा कमजोर हुन पुगेका मधेशवादीहरुले माओवादीको सहयोगमा वैतरणी पार गर्न खोजेका थिए । माओवादीले भरोसा पनि नदिएका होइनन । तर अहिले संविधान निर्माणको प्रक्रियाले दुइटैलाई दुई ध्रुवमा उभ्याएको छ ।

माओवादीले संचालन गरेको दस वर्षसम्मको मुक्ति आन्दोलनको भावनानुकूल दोस्रो संविधान सभाले आशातित सफलता प्राप्त नगरेपछि उसको हात तल परेको कुरा कहिकतै लुकेको छैन । यो वास्तविकतालाई मधेशले मात्र होइन पहाडले पनि राम्रोसंग आत्मसात गरेको हुनुपर्छ । तर पहाड प्रायः शान्त छ भने तराई मधेश पूर्णरुपमा तातेको छ । आन्दोलित छ । तराईमधेशमा कहिले नभएको यति लामो आन्दोलनको वावजुद सरकार टेरपुच्छर लगाइरहेका छैनन ।

यसको मूलकारण के हुन सक्छ ? किन सरकारको नरसंहारकारी रवैयाले पूर्णविराम पाएको छैन ? यस प्रश्नको जवाफको लागि पछाडि फर्कनु पर्ने हुन्छ । मूलतः विभेदपूण मानसिकताको विजारोपण सुगौली सन्धिवाट भएको थियो । सुगौली सन्धिको दुईसय वर्षको इतिहास कालमा यसले कुनै न कुनै रुपमा वैधानिकता पाउदै आएको छ ।

सुगौली सन्धिको धारा ७ होस्, जंगवहादुरको मुलुकी ऐन वा अहिलेसम्म नेपालको इतिहासमा अभ्यास भएका ६ वटै संविधान सवैमा कही न कही शासकको विभेदपूर्ण मानसिकताले कानुनी रुपमा स्थान पाएका छन् । कतिसम्म भने संविधान सभाको परिमार्जित मस्यौदा विधेयकको कतिपय दफामा समेत यो विभेदपूर्ण प्रणालीले निरन्तरता पाएको हो, जसलाई दसवर्षे जनयुद्धका हर्ताकर्ताहरुले पनि निस्तेज पार्न सकेनन् । विधिको विडम्वना नै हो कि आज उसले शक्ति सन्तुलनको कारण संविधान सभालाई स्वीकार गर्न वाध्य भएको हो । माओवादीको यो बाध्यतालाई उसको एजेण्डासंग जोडेर हेर्दा यसले केही हदसम्म सकारात्मक निस्कर्ष दिन्छ ।

त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको जोडघटाउ गरेर माओवादी संविधान निर्माणको निस्कर्षमा पुगेको हो । यदि उपेन्द्र यादव र राजेन्द्र महतोले पहिलो संविधान सभाबाट एघारह प्रदेशको खाका स्वीकार गरेको भए शायद यो परिस्थितिको सिर्जना हुने थिएन । डा. बाबुराम भट्टराईको सरकारको भित्र र बाहिर रहेकाहरुले वृहत मधेशी मोर्चा बनाएर एघारह प्रदेशको खाकालाई असफल पार्ने प्रयास गरिएको तथ्यलाई मधेशवादीले मात्र होइन म जस्ता माओवादीले पनि स्वीकार गर्नै पर्छ ।

किनकी म सरकारमा भएर पनि सरकारी निर्णयको विरोध गर्न पुगेको थिए । अहिलेको विभेदपूर्ण मस्यौदा त्यही गल्तिको पुरस्कार हो भन्ने बोध उपेन्द्र यादव र राजेन्द्र महतोमा नहुन्जेलसम्म अहिलेको आन्दोलन स्थगन हुने सम्भावना छैन । मधेशवादीतर्फबाट एघारह प्रदेशको खाकाका सवैभन्दा प्रवल समर्थकको रुपमा रहेका तात्कालीन मंत्री ह्दयेश त्रिपाठी अहिले आन्दोलनको परिदृश्यमा सक्रिय नदेखिनु एउटा त्यो कारण पनि हुन सक्छ । तर सवैभन्दा विरोधीको रुपमा रहेका राजेन्द्र महतो आजपनि त्यस्तै उग्ररुप धारण गरेका छन् ।

इतिहासमा आफूद्वारा भएको गल्तिलाई सहर्ष स्वीकार गर्ने व्यक्ति नै ऐतिहासिक पुरुष कहलाउछन् । भएगरेको गल्तिलाई सच्याएर अगाडि बढछ । त्यसैले अहिलेको आन्दोलन रोकिने होइन, स्थगन हुने हो । अधिकार नदिउन्जेलसम्म यसले निरन्तरता पाइरहने हो । तर समयकाल र परिस्थिति अनुसार लचकता अपनाउन सकिएन भने यसले आफ्नो सार्थक औचित्य गुमाउछ । विगत दुई दशकदेखि सक्रिय रुपमा विभिन्न शोषित पीडित जातजाति, भाषाभाषि, लिङ्ग, वर्ग र क्षेत्रको जनताको मुक्ति आन्दोलनमा संस्थागत रुपमा लागेको हुनाले मेरो चक्षुज्ञानले मलाई यहाँसम्म ल्याई पु¥याएको हो ।

वार्तामा आउनु पर्छ । कुरा सुन्नु पर्छ । आफ्नो कुरा डटेर राख्नु पर्छ । र, शासक वर्गसंग भएगरेका कुराकानी इमान्दारिताकासाथ तथ्यगत ढङ्गले मधेशी जनता समक्ष पु¥याउनु पर्छ । अहिलेको यही माँग हो । माओवादी सम्वद्ध मधेशी नेता तथा कार्यकर्ताको भगिरथ प्रयत्नपश्चात हाम्रो पार्टीले तीन दलीय गठवन्धनवाट दुईदिनका लागि संविधान सभामा प्रक्रिया स्थगन गराएको हो । नाम मात्रको स्थगन भएपनि वस्तुगत परिस्थितिलाई आत्मसात गर्ने एक मौकाको रुपमा यसलाई बुझ्न सके बद्धिमता हुनेछ ।

मधेशी जनताले आफ्नो हात काटेर दुईतिहाई मत कांग्रेस÷एमालेलाई जिम्मा लगाएको छ । यस्तो परिस्थितिमा आन्दोलनको विकल्प नभएर नै मधेशवादीहरु मात्र होइन हामी पनि आन्दोलनमा गएको हौ । साउन २४ गते नै सीमाङ्कनको विरुद्धमा माडर र सिरहामा टायर वालेर आन्दोलनको सुरुवात गरेको थिए । त्यस दिनदेखि पार्टीको अनुमति विना नै नियमित जुलूस लगाउदै आएको तथ्य जगजाहेर छ । अन्ततोगत्वा पार्टीले भाद्र ११ गतेदेखि मधेशी मुक्ति मोर्चा नेपाललाई संस्थागत रुपमा आन्दोलन गर्न अनुमति प्रदान गरेपछि झापादेखि बर्दियासम्म मोर्चाले आफ्नो बैनरमा एक चरणको कार्यक्रम सम्पन्न गरेको हो ।

दोस्रो चरणको आन्दोलन जारी छ । त्यसकारण हामी पनि मधेश आन्दोलनको हिस्सा बन्न पुगेका छौ । यो आन्दोलनको श्रेय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई गए पनि हामी पनि निरन्तर आन्दोलन गरिरहेका छौ भन्ने कुरालाई सवैले स्वीकार गरेको हो । अझ यो आन्दोलनलाई सवै मधेशीकोे साझा आन्दोलन बनाउन सकेको भए सरकारको दुई तिहाईको ढिपी एक साता भित्रै समाप्त हुने थियो ।

अहिलेसम्मको आन्दोलनमा हाम्रा पार्टीका समर्थक र शुभचिन्तक शहिद भएका छन् भने कैयौं घाइते भएको स्थिति छ । महोतरीको जलेश्वरमा शहादत प्राप्त गरेका अमित कापडि हाम्रा समर्थक हुन भने गोलवजारमा प्रहरीको गोलीबाट घाइते भएका लक्ष्मण दास एकीकृत माओवादीका सक्रिय कार्यकर्ता हुन भने आशिष विक्रम साह समर्थक हुन । पार्टीको विशेष पहलमा उनीहरुको उपचार धरानमा भैरहेको छ । त्यसैले यो आन्दोलनको स्वामित्य संयुक्त मधेशी मोर्चाले मात्र लियो भने अन्य आन्दोलकारीहरुप्रति ज्यादति भएको ठहर्छ । यसमा सवैको ध्यान जायोस् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.