
हुलाकी न्यूज, काठमाडौं ५ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २९ दलीय संघीय गठबन्धनले अहिले केही बेरमा आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्दैछन् ।
गठबन्धनका मुख्य दुई घटकको असन्तुष्टिका बाबजुद आन्दोलनका कार्यक्रम घोषणा हुन लागेको हो ।
गठबन्धको बैठकमा सहभागी राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले हुलाकी न्यूजसँग कुराकानी गर्दै केही बेरामा आन्दोलनका थप कार्यक्रम घोषणा हुने बताए । उनले अवको आन्दोलन कडा रुपमा हुँदै जाने तयारी भएको बताए ।
यता गठबन्धनको कार्यक्रमबाट तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो असन्तुष्ट छन् । उनीहरु अहिले संघीय समाजवादी फोरम नेपालको कार्यलयमा जारी गठबन्धनको बैठकमा सहभागी भएका छैनन् ।
सद्भावना श्रोतका अनुसार उपेन्द्र यादवले एकलौटी रुपमा आन्दोलन चलाउन खोजेकोले काठमाडौं केन्द्रीत आन्दोलन फितलो भएकोमा सदभावना असन्तुष्ट छ ।
यता महन्थ ठाकुर पनि उपेन्द्र यादवको पछिल्लो रबैयाप्रति असन्तुष्टि जनाउँदै आएका छन् । गठबन्धन भित्रको विवाद बारे दुबै पार्टी नेताहरुले कुनै असन्तुष्टि नरहेको बताए ।
महतो अस्वास्थय रहेको र ठाकुर दिल्लीबाट फर्केकोले थकित रहेको दुबै पार्टीका नेताहरुले हुलाकी न्यूजलाई प्रतिक्रिया दिए ।




