राम दास चौधरी

राज्यको उपस्थिति हुँदा पनि र राज्यको उपस्थिति नहुँदा पनि थारु समुदायमा बरघर र भलमन्साहरुले परापूर्वकालदेखि नेतृत्व लिई विकास निर्माण, शान्ति सुरक्षा र न्यायको सम्पूर्ण जिम्मेवारी लिँदै आइरहेका छन्। थारुहरु आफ्नै परम्परा र रीतिरिवाजमा निर्भर हुँदै आएका समुदाय पनि हुन्। एउटा इतिहास बोकेको संस्था बरघर र भल्मन्सा प्रथा हो, जो परापूर्वकालदेखि थारु समुदायमा एक संस्थाको रुपमा रहँदै आएको छ। यो संस्थाले नै थारुलाई एउटा गाउँमा बोलबन्ध गर्दै उनीहरुको विकास, निर्माण तथा शान्ति सुरक्षाको प्रजातान्त्रिक अभ्यास गर्दै आएको छ। त्यसैले होला सबै थारुहरुले बरघर र भलमन्सालाई आफ्नो अभिभावकको रुपमा लिन्छन र आस्था र सम्मान गर्छन्।

आखिर को हुन् त बरघर र भल्मन्साहरु? यो संस्थाको निर्माण कसरी भयो वा हुन्छ? भन्नेबारे केही सामान्य जानकारी लिँदा वर्तमान थारुको सामाजिक विश्लेषण गर्ने अधार तयार हुन्छ। थारु समुदायमा आफ्नै समुदायको विकास नर्माण, शान्ति तथा सुरक्षा र गाउँमा अमन चयन कायम गर्ने गराउने जिम्मेवारी बरघर र भल्मन्साहरुले परम्परादेखि नै गर्दै आएको विभिन्न अध्ययनले देखाउँछ। यो संस्था वास्तवमा थारुहरुको आफ्नै र आफ्नो गाउँलाई संगठित, व्यवस्थित र गोलबन्द गर्न, उनीहरुको शान्ति र विकास गर्न बनेको र उनीहरुले आफैँले आफैमाथि प्रजातान्त्रिक शासन व्यवस्थामा सञ्चालन गर्न बनाएको एक परम्परागत संस्थाको रुपमा लिन सकिन्छ। बरघर तथा भलमन्सा प्रथा लामो इतिहास बोकेको संस्था हो। यो संस्था कति पुरानो हो भन्ने कुरा बुझ्न थारुको इतिहास केलाउन जरुरी हुन्छ।

Ramdas-Chaudhary-tharu-leader

थारु समुदायमा प्रजातान्त्रिक अभ्यासमा गर्दै आएको यो प्रथा थारु बस्तीमा प्रचलनमा छन्। चाहे ती कुनै थरीका थारु हुन् वा कुनै क्षेत्रका। सबै थारुमाझ एकमात्र जिवित संस्था भनेकै बरघर र भल्मन्सा प्रथालाई मान्न सकिन्छ।

मेचीदेखि महाकालीसम्म बसोबास गर्ने वा भारतका केही जिल्लामा बसोवास गर्ने थारुको बीचमा एउटा साझा र सबैकहाँ मिल्ने एकमात्र अति प्रचलित यो संस्थालाई फरक-फरक ठाउँमा, ठाउँ विशेषमा यसलाई फरक-फरक नाम दिएको पाइन्छ। कैलाली र कञ्चनपुरमा बरघर र भल्मन्सा भनिन्छ भने विशेषगरी राना थारुको बाहूल्यता भएको ठाउँमा भल्मन्सा भनेको पाइन्छ। त्यसै गरी बाँके, बार्दिया, दाङ्गतिर ककन्दार, महताँवा र अझ पूर्वतिर जाने हो भने गच्छदार भनिन्छ।

आखिर जुन ठाउँमा जे नामले पुकारे पनि यो शब्द गाउँमा सम्मानित शब्द हो र सम्मानित पद हो। यो पदले के गर्नुपर्छ भने उसको जिम्मेवारी लिखितरुपमा कहीँ पनि छैन। शब्दलाई विश्लेषण गरी हेर्दा (भल±मन्सा) भल्मन्सा वा भलो गर्ने मान्छे बुझिन्छ। (बर±घर) बाट बरघर वा ठूलो घर भन्ने बुझिन्छ। यद्यपि ठूलो घर भनेको आकार वा संख्या नभइ सम्मान स्वरुप ठूलो भन्ने बुझिन्छ। (दशिराम चौधरी- बडघरीया) बरघर को हुन्छ भन्दा गाउँमा जान्ने सुन्ने उसले भनेको अरुले मान्ने वा गाउँमा समय दिन सक्ने मान्छे नै हुन्छ। परम्परादेखि नै चलिआएको यो प्रथाले थारु समुदायमा एक प्रजातान्त्रिक प्रणालीको अभ्यास गरेको पाइन्छ।

राज्यको उपस्थिति हुँदा पनि र नहुँदा पनि यो संस्थाले थारु गाउँमा विकास निर्माण गर्ने, शान्ति सुरक्षा गर्ने, न्याय निसाफ गर्ने सम्पूर्ण कार्य यसै संस्थाले गरेको पाइन्छ। परम्परागत रुपमा रहेको यो संस्थाले गाउँमा बाटोघाटो बनाउने, सिचाईको लागि कुला नालाको व्यवस्थापन गर्ने, खानेपानी तथा पधेंरोको व्यवस्था गर्ने, विभिन्न बालीनालीहरुको रोगव्यधिबाट संरक्षण गर्ने, मानिसहरुलाई रोगव्यधिले नसताओस भनि परम्परागत रुपमा पूजाआजाको व्यवस्थापन गर्ने कार्य पनि यसै संस्थाले गर्दै आएको पाइन्छ। त्यतिमात्र होइन यस संस्थाले गाउँमा न्याय निसाफ गर्ने कार्यसमेत गर्दै आएको पाइन्छ, भने कुनै गाउँमा झैं झगडा हुँदा, विवाद हुँदा वा ठूला घटना घट्दा पनि (भवितव्यमा ज्यान जाँदा समेत) यसै संस्थाले न्याय निसाफ गरेको विगतमा इतिहासले देखाउँछ।

त्यसैले थारु समुदायको झैं-झगडा तथा मुद्दा मामिलाहरु धेरै कम मात्रामा अड्डा अडालत सम्म जाने गरेको पाइन्छ। त्यसैगरी वर्षभरीमा क-कसको घर बनाउनुपर्ने, विवाह, व्रतबन्ध गर्नुपर्ने वा पूजाआजा तथा सामाजिक कार्यहरु गर्ने र मान्छे जन्मिएदेखि मान्छे मर्दासम्म सम्पूर्ण क्रियाकलापमा कुनै न कुनै तरिकाले बरघर तथा भल्मन्साहरुको जिम्मेवारी रहेको हुन्छ।

प्रत्येक वर्षको माघ महिनामा बरघर वा भल्मन्साको निर्वाचन हुन्छ। माघ महिनामा बखेरीमार्फत् भल्मन्सा चुनिन्छन्। यस बखेरीमा प्रत्येक घरका एक सदस्यको उपस्थिति हुन्छ र सोही उपस्थितिमा बरघर वा भल्मन्साले गरेको राम्रो वा नराम्रो कामको चर्चा परिचर्चा हुन्छ। राम्रो काम गरेको छ भने पुनः ऊ नैभल्मन्सा हुन्छ। छैन भने अन्यको प्रस्ताव गरीन्छ। सर्व सम्मतबाट निर्वाचन गरिन्छ। यो नै गाउँमा एउटा अधिवेशन मान्न सकिन्छ। बरघरलाई आवश्यक पर्ने चिराकी, चौकिदार वा अन्य सहयोगीको पनि यसै बखेरी बाट छनौट गरिन्छ। चिराकीको काम गुरुवा धामी सँग हुन्छ भने चौकिदारको काम गाउँ घरमा खबर गर्ने, मान्छे भेला गर्ने, सूचनाहरु आदान प्रदान गर्ने र भल्मन्साले अह्राएको काम गर्छन्।

बरघर वा भल्मन्सा, चौकिदार वा चिराकी जेसुकै नाम दिएपनि थारु समुदायहरुले उनीहरुलाई सो काम गरेबाफत केही न केही ज्याला वा अन्य कुनै कुरा व्यवस्था गरेका हुन्छन्। वर्षमा उनीहरुलाई गाउँको नियमअनुसार कति बालीनाली दिने भन्ने नियम बनाएको हुन्छ र भल्मन्सालाई अन्य सहयोग पनि गाउँलेहरुले गर्ने गर्छन्। वर्षाको बेला खेत जोत्न, धान रोप्न, धान काट्ने वा खेतको कुनै कामहरु जो उसलाई आवश्यक हुन्छ त्यसमा पनि श्रमदान गरेर उसलाई सहयोग गर्छन्। हुन त थारु समुदायमा एक अर्काको सहयोग गर्ने पुरानै परम्परा छ तर बरघर वा भल्मन्सालाई त झन उसको समय अन्यत्र खर्चेको हुनाले उसको घरको काम काज सघाउनु पर्ने गाउँलेहरुको कर्तव्यनै हुन आउँछ। यसका पनि फरक फरक गाउँमा फरक फरक चलन रहेको पाइन्छ, जो उनीहरु आफैँले निर्धारण गरेका हुन्छन्। कुनै गाउँमा ज्याला पाउने वा कुनै गाउँमा ज्याला नपाउने पनि गरिएको हुन्छ।

म पहिले नै उल्लेख गरिसके कि थारु समुदायमा यस प्रथाले राज्यको उपस्थिति छँदा वा नहुँदा पनि विकास निर्माण, शान्ति सुरक्षा, न्याय र अमन चयन गर्ने कार्य गर्दै आएको देखिन्छ। राज्यले बजेट व्यवस्था गर्दा पनि र नगर्दा पनि थारु बस्तीहरुमा बाटोघाटो वा कुलो नालोको व्यवस्था यसै संस्थामार्फत् गर्दै आएको देखिन्छ। पञ्चायतकालमा पनि स्थानीय तहमा जनप्रतिनिधिको निर्वाचनपश्चात पनि कुनै गाउँमा केही कार्य गर्नुपरेमा श्रमदानको लागि यिनै बरघर र भल्मन्साहरुले सहयोग गरेको इतिहास साक्षी छ। प्रजातन्त्रको पुनर्वहाली पछि पनि गाउँमा जुनसुकै विकास निर्माणको काम पनि बरघर र भल्मन्साहरुले सहयोग गर्दै आएको देखिन्छ। अर्को कुरा चाँहे गाउँमा बजेट आओस वा नआओस त्यो सँग यो संस्थाले कहिले पनि सरोकार राखेन। गाविसबाट बजेट निर्वाचीत प्रतिनिधिले निकासा गरेपनि त्यहाँ यिनिहरुको पहुँच विरलै भएको देखिन्छ।

यसरी थारु गाउँमा थारु समुदायमा यो संस्थाको महत्व ठूलो भए पनि विभिन्न राजनीतिक परिवर्तनले यिनीहरुको काम कर्तव्य र अधिकारमा प्रभाव अवश्य परेको छ। यद्यपि यो परम्परागत संस्था हो र यो संस्थाप्रति थारुहरुको आस्था र विश्वास धेरै गहिरो रहेको देखिन्छ। हो वर्तमान परिस्थितिमा राज्य व्यवस्थाको उपस्थिति केही हदसम्म गाउँ गाउँसम्म पुगेको छ। विकास बजेटहरु गाउँसम्म पुग्न थालेका छन्। राज्यको संरचना गाउँसम्म पुगेको छ जसले गर्दा बरघर र भल्मन्साहरु विस्थापित हुँदैछन्। परिवर्तित परिस्थितिमा उनीहरुको भूमिका पनि परिवर्तन अवश्य भएको छ।

यसरी बरघर र भल्मन्साहरुको भूमिकालाई हेर्दा राज्यले उनीहरुको पहिचान दिनुपर्छ र पहिचान गर्न जरुरी देखिन्छ। राज्यले उनीहरुले विगतदेखि वर्तमानसम्म गर्दै आएको योगदानको कदर गर्न सक्नुपर्छ। आइएलओ महासन्धी १६९ ले पनि आदिवासी जनजातिहरुको परम्परागत संस्था र प्रथाजनित कानुनलाई मान्यता दिएको छ जुन महासन्धी सन् २००७ सक्टेम्बरमा नेपालले अनुमोदन गरिसकेको छ। त्यसैले होला बर्दिया जिल्लामा गाउँ विकास समितिको परिषद् हुँदा प्रत्येक गाउँ गाउँका बरघरलाई उपस्थित नगराएसम्म गाउँ परिषद चल्न नदिने आन्दोलन चर्कियो। उनीहरुको दाबी थियो गाउँको सम्पूर्ण विकास निर्माणका कार्य उनीहरुले गर्दै आएको र गाविसमा हाली मुहाली अरुले गरेको र गाउँको वास्तविक जनप्रतिनिधि उनीहरु भएको दावी गरेका थिए। उनीहरुको अस्तित्वमाथि खेलवाड गरेको बादी थियो। त्यसैले स्थानीय प्रशासनले उनीहरुलाई प्रत्येक गाविसको गाउँ परिषद्‍मा उपस्थित गराउने निर्णय गर्‍यो।

बरघर र भल्मन्सा प्रथा थारुको संस्कृतिसँग जोडिएको, परम्परासँग जोडिएको एक ऐतिहासिक धरोहर हो। कैलालीको टीकापुरको शान्तिपूर्ण आन्दोलनमा ८ जना प्रहरी र एक जना वालक मारिँदा थारुहरुको यस्तो बलियो संरचना र धरोहर बरघर र भलमन्सालाई पनि शंकाको दृष्टिले हेरिँदैछ। आज धेरै बरघर र भलमन्साहरु सम्पर्कविहिन छन्, बिस्थापित हुँदैछन्। स्थानीय प्रशासनले उनीहरुलाई मान्छे खेरेर लगेको आरोप लगाएको छ। नगएमा ५०० रुपैंया जरिवाना गर्ने उर्दी जारी गरको थियो भन्ने आरोप लगाएको छ।

हो प्रत्येक थारु गाउँमा श्रमदानमा गएन भने केही न केही नगद तिर्नुपर्ने नियम बनाएका हुन्छन्। जसले गर्दा थारुहरुको गाउँमा श्रमदानमा शत प्रतिशत सहभागिता रहेको हुन्छ। थारुहरुको आन्दोलनलाई यति माथिसम्म पुर्‍याउनमा पनि विकास निर्माणमा सहभागिता गराएजस्तै वर्तमान संविधानमा प्रस्तावित ७ वटा प्रदेशमा थारुहरुले वा बरघर संस्थाहरुले पनि आफ्नो अस्तित्व देखिरहेका छैनन्, आफ्नो पहिचान देखिरहेका छैनन् होला। थारुहरुको अनुहार मुखरित भएको देखिराखेको छैनन् होला र थारुहरुको अधिकार सुरक्षित देखेनन् होला।

त्यसैले नै शान्तिपूर्ण आन्दोलन्मा सहभागी हुन यी बरघर तथा भल्मन्साहरुले आह्वान नगरेका होलान् भन्न सकिँदैन। गाउँलेलाई खबर गरेका होलान्। बरघरहरुले वर्तमान अवस्थामा संविधान र प्रस्तावित संरचना आफ्नै संस्थालाई मन नपरेर नै होला उनीहरु आफ्नो अधिकार स्थापनाका लागि जनताहरुलाई उठाएका होलान्। तर जेजति भने पनि बरघर र भल्मन्साहरु हिंसामा जाने वा हिंसात्मक कार्य गर्ने उनीहरु कसैले पनि गरेका छैनन्। त्यसो गर्न उस्काएका पनि छैनन्। बरघरले त्यसो गर्न पनि सक्दैनन्। थारुहरुको यो पवित्र संस्थालाई अपराधीको आरोप लगाउनु र उनीहरुलाई अपराधी सरह शंकाको घेरामा राख्नु वर्तमान राज्य सत्ताले थारुलाई नबुझ्नु र बुझेर पनि बुझ पचाएको सावित हुन्छ।

शान्ति र बिकास को सम्बाहक खम्वा वडघरलाई शंकाको दृष्टि ले हेरिनु र उनीहरुलाई अपराधिको ब्यवहार गरिनु सिंगो थारुहरुको संस्ककृतिमाथि कुठराघात गरिनुसरह नै थारुले लिइरहेका छन्। पहिचान र सम्मान पाउनुपर्ने ठाउँमा, बेलामा अपराधीसरह कारबाही गरिनुले राज्य सत्ताको आडमा आदीवासी जनजाति थारुको ऐतिहासिक संस्थामाथि बज्रपात गर्नुले राज्यले थारुलाई हेर्ने दृष्टिकोण र उनीहरुलाई गर्ने ब्यवहार स्पस्ट हुन्छ। अपराधिलाई कारबाही गर्नुपर्छ, त्यसमा दुईमत छैन तर वडघर र भलमन्सा जो गाउँका अभिभावक हुन्, शान्ति र वकासका सम्बाहक हुन्, यी विकासका प्रमुख साझेदारलाई शान्तिपूर्ण आमसभामा सहभागी हुन खबर गरेकाले मात्र यिनीहरुलाई अपराधी सरह शंकाको घेरामा राखिनुले आज सबै थारुहरु निरास भएका छन्।

उनीहरुले आफ्नो परम्परागत संरचनामाथि र आफ्नो जिम्मेवार अभिभावक र आफ्नो सुखादुखको संरक्षक स्थानीय सरकारलाई आज राज्य सत्ताले लत्याएको र दमन गरेको महसुश गरिरहेका छन्। उनीहरुको मन र आत्मा रोइरहको छ। हो उनीहरु सबैसँग बोल्ने क्षमता छैन, उनीहरुसँग कलम चलाउने क्षमता छैन, उनीहरुको आवाज छैन, र बोले पनि सुन्नेवाला कोही छैनन्, उनीहरुको आवाजको सुनुवाई हुँदैन। त्यसैले होला उनीहरु शोषित छन्, पीडित छन्। उनीहरु बोल्न, कलम चलाउन सक्दैनन्, भन्दैमा उनीहरुको विचार छैन। उनीहरुको विवेक छैन भनेर कसैले अर्थ लगाउँछ भने त्यो कदापि सही मान्न सकिँदैन। यसरी सधैं शोषण र दमन गरिरहेमा थारुहरु कहिलेसम्म सहन सक्छन्। उनीहरुको धैर्यताको बाँध छुट्यो भने के होला? अनुमान गर्न सकिँदैन। त्यसैले बिद्रोहको बिउ राज्यद्धार रोपिनु हुँदैन।

लेखक थारु समाजका अगुवा हुन्। थारुवानडटकमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.