
हुलाकी न्यूज, काठमाडौं ३ जेठ । मधेशी मोर्चासहित संघीय गठबन्धनले आज दोस्रो दिन पनि सिंहदरबार घेराउ गरेको छ । संविधान पुनर्लेखनको माग गर्दै काठमाडौंकेन्द्रित आन्दोलन थालेको गठबन्धनले आज पनि सिंहदरबार घेराउ कार्यक्रमलाई निरन्तरता दिएको हो ।
आइतबारको सिंहदरबार घेराउ कार्यक्रम सफल भएको निष्कर्ष निकालेको गठबन्धनले आज बिहान ९ बजेदेखि सिंहदरबार घेराउ गरिरहेको छ । घेराउका क्रममा माइतीघर मण्डलामा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा गठबन्धनका केही कार्यकर्ता घाइतेसमेत भएका छन् । गठबन्धनमा आबद्ध दलहरूका नेता तथा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । गठबन्धनका शीर्ष नेताहरूले धर्नाको नेतृत्व गरिरहेका छन् ।
गठबन्धनका नेताहरू उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठलगायत नेताहरूले माइतिघर मण्डलाको नेतृत्व गरिरहेका छन् भने राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्रराय यादव, राजकिशोर यादव, लक्ष्मणलाल कर्णलगायतका नेताहरूले हनुमानस्थानको नेतृत्व गरिरहेका छन् । गठबन्धनको धर्नाका कारण आज पनि यातायात व्यवस्था अस्तव्यस्त बनेको छ ।
यसैबीच, उपत्यका बाहिरबाट आइरहेका कार्यकर्तालाई नागढुंगा, थानकोटलगायत स्थानमा अवरोध पु¥याएकोप्रति गठबन्धनका नेताहरूले आपत्ति जनाएका छन् । गठबन्धनका नेताहरूले प्रहरीबाट भइरहेको रोकटोकको विरोध गर्दै केपी ओली नेतृत्वको सरकार आतिएको टिप्पणी गरेका छन् ।
सरकारले जनयुद्धकाल जस्तै चेकजाँज गरेर कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिएको भन्दै यस्तो कार्य तत्काल रोक्न पनि नेताहरूले माग गरेका छन् ।
मंगलबारसम्म हुने घेराउ कार्यक्रमपछिको रणनीति बनाउन आजै साँझ गठबन्धनको बैठक बस्दैछ ।













