हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै संघीय गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, विकास, समृद्धिको जनताको आकांक्षा पूरा गर्न संविधानसभाबाट पारित गरी यो संविधान जारी गर्दछौँ । अहिले हामी अन्तिम चरणमा छलफल गर्दै गर्दाको संविधानको प्रस्तावनाको मूल स्पिरिट हो यो ।

हामी सार्वभौम नेपाली जनता, राष्ट्रिय स्वतन्त्रता र एकतालाई रक्षा गर्दै जनताकै तर्फबाट इतिहासमा पहिलोपटक संविधानसभाबाट संविधान जारी गर्दै छौँ । हामी सबैको नेपाली दाजुभाइ, दिदीबहिनीहरूका निम्ति यो ऐतिहासिक रूपले गौरवको क्षण हो । हामी झन्डै ६५ वर्षको सशस्त्र र शान्तिपूर्ण ठूलाठूला संघर्षबाट हजारौँ नेपाली जनताको छोराछोरीको बलिदानको जगबाट यो प्रस्तावनासहितको संविधानमा हामी आइपुगेका छौँ ।

००७ सालवरपर सुरु भएको भए पनि संविधानसभाबाट संविधान जारी गर्ने कुरा ओझेलमा परेको थियो । संविधानसभामा पछिल्लोपटक यसलाई अघि ल्याएर सबै जनताको एजेन्डा बनाउने हाम्रो दल र नेतृत्वलाई यो अवसर प्राप्त भयो । निकै ठूलो बलिदान, संघर्ष र योगदान गरेर हामीले नेपालमा फेरि संविधानसभाको विषयलाई नेपाली राजनीतिको तत्कालिक एजेन्डा बनाएर ल्यायौँ । बिस्तारै यो सबै समुदाय र नेपालको शान्तिप्रक्रियाको अभिन्न औजार, नेपालको एजेन्डा बन्यो ।

जतिवेला पहिलो संविधानसभा संविधान बनाउन असफल भयो । दोस्रो पनि कतै असफल हुने हो कि भन्ने यसको वरिपरि पनि कालो बादल मडारिन थालेको थियो । धेरै चलखेल र षड्यन्त्र हामीले देख्यौँ । फेरि संविधानसभाबाट संविधान बनाएर जनताले आफ्नो भाग्य र भविष्यको फैसला गर्ने अधिकारबाट वञ्चित हुने हो कि भन्ने चिन्ता भयो । नेपाली जनता, राजनीतिक दलहरू र नेता आफ्नो लक्ष्य र प्रतिबद्धता आफैँ फैसला गर्न सक्षम छैनन्, आफ्नै प्रतिबद्धता पूरा गर्न सक्षम छैनन् भन्ने कुरा स्थापित हुने हो कि भन्ने ठूलो चिन्ता सर्वत्र व्याप्त भयो । नेपाल आफ्नै निर्णय गर्न सक्ने देश हो । यस्ता नेता र पार्टी तथा जनता छन् कि छैनन् भन्ने प्रश्न अहिले पनि छ । हामी कोलको गोरुजस्तो घुमेको घुम्यै भइरहेका थियौँ ।

 

Prachanda-Speeh

भयानक चक्रब्यूहमा फसेजस्तो स्थिति बनेको थियो । देशभित्र र बाहिर पनि परिवर्तन चाहने निराश र देश नै दुर्घटनातर्फ जाने खतरा थियो । त्यसपछि हामीले १६ बुँदे सहमति गरेर यतिवेला संविधानसभाबाट संविधान जारी गर्ने अवस्थामा पुगेका छौँ । संविधानसभाको बैठकमा अन्तिम अभिव्यक्ति दिँदा मलाई सम्झना भइरहेको छ । कार्लमाक्सले भनेका थिए, मैले ड्रागनको दाँत रोपेको झिंगा वा उपिँयाको फल काट्नुपर्ने भयो । मलाई अहिले फर्किएर हेर्दा नेपालका सबै उत्पीडित समुदायलाई न्याय गर्ने नयाँ राज्यको परिकल्पना गरेको थियौँ । ड्रागनको दाँत रोपेको थियौँ, तर निकै थोरै भिंmगाजति मात्रै फल टिप्न पायौँ । निकै थोरै । चाहेको दाँत नै थियो ।

तर, अहिले यो हामी सबैका लागि अग्निपरीक्षाको क्षण हो । हामी सफल हुने कि नहुने, हामी निर्णय गर्न सक्छौँ कि सक्दैनौँ ? सवाल के हो भने हामी २१औँ शदीमा छौँ । यो शताब्दीमा जनताका आकांक्षा, चाहनाहरू वस्तुगत र आत्मगत धरातलमा विगतको भन्दा भिन्न छन् । इतिहासप्रति गर्व गर्दैगर्दा आजका जनताको आवश्यकता फरक छन् भन्ने कुरा नेता, बुद्धिजीवीहरूले भुल्नुहुँदैन । इतिहासमा धेरै विषय छन् हामीले गर्व गर्नुपर्ने । तर, आजको यो अवस्थामा अघि बढ्दै गर्दा विश्व परिवेश बिल्कुल नयाँ छ । हाम्रो राष्ट्रिय एकताको आधार पनि नयाँ छ । देशको जनसंख्या तीन करोडभन्दा कम भए पनि हामी जाति, भाषा, संस्कृतिको विशिष्ट मौलिक स्थितिमा छौँ । ती सबैलाई उचित अधिकार, मौका र अवसर पाउनेछन् भन्ने मान्यतामा मात्रै राष्ट्रिय एकता सम्भव छ ।

हिजोको जस्तो राजा–महाराजबाट यो सम्भव छैन । हामी केही ढिलो भएका छौँ । वस्तुत सामन्तवादी युगबाट पुँजीवादी युगमा प्रवेश गरेका छौँ । तर, निर्णायक रूपमा पुरानोलाई नयाँले विस्थापित गर्न सक्यौँ कि सकेनौँ छुटै विषय हो । तर, एउटा युगबाट अर्को युगमा रूपान्तरित हुँदा वस्तुत: समाजले कहीँ न कहीँ एउटा पीडा भोग्दछ । पार्टीहरूले पनि भोग्छन् । नागरिक समाज र बुद्धिजीवीले पनि भोग्छन् । विभिन्न शक्ति टकराउनु स्वाभाविक छ । अनौठो भयो भन्ने होइन । अमेरिकाको स्वतन्त्रता संग्राम, भारतको, चीनको हामी सबैले पढेका–देखेका छौँ– संविधानसभाबाट संविधान बनाउँदा ।

तर, इतिहास, प्रकृति, समाज, मानव एउटा नियमबाट निर्देशित छ । यो त्यहीअनुसार जान्छ । प्रकृति पनि त्यही हो । केही समयअघि भूकम्प गयो । कसैले सोचेका थिएनौँ । त्यही नियमअन्तर्गत । समाज पनि त्यही नियमअनुसार चल्ने हो । मन परे पनि नपरे पनि । यसले विपत्ति जन्माउँदै अघि बढ्नु स्वाभाविक हो । विपत्तीभन्दा बाहिर समाज पनि विकास हुँदैन । विकसित देशहरूको इतिहास पनि उस्तै छ । नेपाल पनि अहिले संविधानसभाबाट संविधान बनाउँदै गर्दा त्यस्तै प्रशव पीडाबाट गुज्रिएको छ । नेपालमा अहिले लोकतान्त्रिक शक्ति र पुरातनवादी शक्तिका बीचमा तीव्र लडाइँ चलिरहेको छ ।

अन्तर्राष्ट्रिय र राष्ट्रिय शक्तिका स्वार्थ पनि टकराएका छन् । जनताको तहमा हामीले भनेअनुसार अधिकार दिन सकेनौँ । यतिवेला पनि संविधानसभाबाट संविधान बन्दा अधिकार गुम्ने हो कि भनेर आन्दोलित छन् । यो पहिचान र अधिकार गुम्ने हो कि भन्ने चिन्ताको परिणाम हो भन्ने भुल्नुहुँदैन । तर, यो मात्रै एकातिबाट हेर्‍यौँ भने सच्चाइ आउँदैन । यो प्रक्रिया भत्काउन चाहने संविधानसभालाई सफल हुन नदिएर गडबड गर्ने पनि नेपाललाई भयानक दुर्घटनामा लैजाने शक्ति पनि सँगै छन् । अधिकार माग्ने जनताका जायज माग पूरा गर्नु र देशलाई दुर्घटनातर्फ लैजाने खोज्ने तत्त्व र प्रवृत्तिसँग सतर्क हुन जरुरी छ । सम्बोधन गर्ने कुरामा कन्जुस्याइँ गर्दा पनि दुर्घटना हुन्छ । गलत तत्त्व र प्रवृत्तिलाई चिनेर संघर्ष गर्न नसक्दा पनि दुर्घटना हुन्छ ।

हामी यस्तै क्षणमा छौँ । हामीले सुरु गरेको संविधानसभामा राखेका एजेन्डा र अहिलेसम्म बडो विचित्रको अवस्थामा छौँ । हामीले थारूहरूलाई त्यही भनेका थियौँ उहिले । उनीहरूका माग अहिले पनि जायज छ भन्ने लाग्छ त्यो कोणबाट हेर्दा, तर संविधानसभाबाट हरहालतमा संविधान बनाउनुपर्छ नत्र देश दुर्घटनामा पर्छ भन्ने कोणबाट हेर्दा हामी कांग्रेस–एमालेसँग छौँ । महिला, दलित, जनजाति, कर्णालीको अधिकारको कुरा गर्दा हामी त्यहीँ हुन्छौँ । यो संक्रमणको सबैभन्दा ठूलो प्रशव पीडा सायद देशभर माओवादीले नै भोगेको छ । यसलाई सम्हाल्दै इतिहासको मूल जिम्मेवारी र भूमिका पूरा गर्दै जाने सोचमा छौँ । कांग्रेस एमालेसँग छलफल गर्दा हामीले सुरुदेखि नै भनेका छौँ । यहाँ कतिपय झडपका अवस्था पनि माघ ५ गते आयो । कांग्रेस–एमालेको दुईतिहाइ र हाम्रो अडान कायमै रहने हो भने संविधानसभाबाट संविधान बन्ने अवस्था थिएन ।

तर पछि सबै संघीयतामा प्रतिबद्धताका साथ जाने भनिसकेपछि हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउनुपर्छ भन्नेमा हाम्रो धेरै गहिरो धारणा हो । यो संघीयतामा गइसकेपछि प्रत्यक्ष गाँसिएको एउटा नेपालको एकता र समृद्धिसहित जनतालाई एकताबद्ध गर्ने सूत्र पनि थियो । तर, त्यो मान्न अन्य दल तयार नभएपछि हामी फरक मतसहित संविधानसभाबाट संविधान बनाउने सर्तमा फरक मतसहित जान तयार भएका हौँ । अहिले मधेसमा आन्दोलन छ ।

तोडफोड र हिंसामा मानिस मरेका छन् । राज्यले बढी बल प्रयोग गर्‍यो, टाउकोमा ताकेर गोली हानियो भन्ने आएको छ । अर्कातिर जबर्जस्ती प्रहरीलाई आक्रमण गर्ने, मार्ने र प्रहरी चौकीमाथि आक्रमण गर्ने पनि देखिएको छ । मैले बहस गर्न चाहेको छु ।

केही मधेसवादी नेताले के भन्नुभयो भने अब मधेसलाई स्वतन्त्रता र अधिकार होइन मधेसमा अब स्वतन्त्र देशका लागि लडाइँ हुन्छ । म बहस गर्न तयार छु । म के भन्छु भने विषय धेरै गम्भीर छ । यो भनाइ आत्मघाती र राष्ट्रघाती छ । किनभने यसले मधेसको हित गर्दैन, मधेसी जनतालाई भयानक दुर्घटनामा लैजान्छ ।

राष्ट्रघाती किन छ भने काठमाडौं निर्माणमा यो राजधानी सांस्कृतिक वैभव र सामग्री बनाउन गोपाल वंशदेखि सुरु भएर लिच्छवि वंशले ८–९ सय वर्ष राज गर्दा या मधेसबाट आएका राजा–महाराजाले राज गर्दा मधेसी जनताको खुन–पसिना काठमाडौंसँग जोडिएको छ । काठमाडौंका पाटी–पौवा–गुम्बाहरूमा यहाँका कला, संस्कृति र नाचगानमा मधेसको जबर्जस्त छाप छ । त्यसकारण मधेसले पूराका पूरा अंश खोज्नुपर्छ । काठमाडौंबाट छुट्टिने सोच राष्ट्रवादी सोच हुनै सक्दैन ।

त्यसकारण इतिहासको यो मोडमा हामीले के बिर्सन हुँदैन भने काठमाडौं निर्माणमा खस, आर्य, किराती, मधेसीदेखि जनजाति सबैको साझा योगदानले नेपाल कहिल्यै कठपुतली वा उपनिवेश भएन,गुलाम भएन । (नयाँ पत्रिका- प्रचण्डले आइतबार संविधानसभामा गरेको संबोधनको सम्पादित अंश)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.