garmi1

हुलाकी न्यूज, ३१ बैशाख । अत्यधिक गर्मीका कारण तराईको जनजीवन कष्टकर बनेको छ । हुनत पछिल्लो दुई दिन छिटफुट वर्षा भएपछि सर्वसाधारणले थोरै भए पनि राहत पाएका थिए । तर, शुक्रवारबाट फेरि चर्को घाम लाग्न सुरु भएको छ । बिहानै चर्को घाम लाग्ने र तातो हावा चल्न थालेपछि सर्वसाधारणको दैनिकी कष्टकर बन्न पुगेको छ ।

गर्मीका कारण बजारमा मानिसको चहलपहलमा कमी आएको छ भने दैनिक ज्यालादारीमा काम गर्ने मजदुरले बढी सास्ती भोगिरहेका छन् । विशेष गरी रिक्सा र ठेला चलाउने मजदुरको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि हुने गर्मीका कारण विद्यालय जाने बालबालिकाहरू पनि समस्यामा परेका छन् ।

गर्मीलाई मध्य नजर गरी मधेशका जिल्लामा अहिले स्कूलहरू बिहानी सत्रमा सञ्चालन गरिएको छ । गर्मीसँगै मधेशमा रहेका अस्पताल र निजी क्लिनिकहरू बिरामीको चाप बढेको छ । गर्मीबाट बच्नका लागि बिहान–बेलुका मात्र घरबाहिर निस्किन चिकित्सकहरूले सर्वसाधारणलाई सल्लाह दिन्छन् । सकेसम्म चर्को घाम लागेका बेला घरबाट बाहिर ननिस्किन, निस्कनै परे पूरै शरीर ढाक्ने गरी कपडा लगाउन, छाताको प्रयोग गर्न, चिसो र तरल पदार्थ बढी सेवन गर्न पनि उनीहरूले सु्झाव दिएका छन् । गर्मी र चुरे विनाशका कारण पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पानीसमेत हाहाकार भएको छ ।

हुनत एक–दुई दिनदेखि छिटफुट पानी परेपछि गर्मीबाट आजित बनेका सर्वसाधारण राहत महसुस गरेका छन् । मौसम परिवर्तनलाई मौसमविद्ले मनसुन पूर्वको अवस्था भएको बताएका छन् । ढिलोगरी प्री–मनसुन सुरु भएपनि अघिल्लो वर्षको तुलनामा यस वर्ष निकै कम मात्र पानी परेको छ । अहिलेको प्री–मनसुनको अवस्था पनि कमजोर रहेको मौसमविद्को भनाइ छ । यस वर्षको मनसुन सुरु हुन भने झण्डै एक महिना बा“की छ ।

यस वर्ष मध्य तथा सुदूरपश्चिमका मधेशका केही भू–भाग तथा सुदूरपश्चिमका केही पहाडी भूभागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । तर, पूर्वी मधेशका केही र पहाडी भूभागमा भने कम वर्षा हुने पूर्वानुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.