काठमाडौं, २८ भदौ / संघीय लोकतान्त्रिक मधेसी मोर्चाले आइतबारबाट सुरु भएको संविधान निर्माण प्रक्रियाको विरोध गरेको छ । यो प्रक्रियाबाट जारी संविधान नमान्ने भन्दै मोर्चाका नेताहरूले आन्दोलन थप सशक्त बनाउने बताएका छन् ।

‘तीनदलीय सिन्डिकेटमा तीन दलका शीर्ष नेताले अहंकार देखाउँदै जबर्जस्त संविधान लाद्ने काम गरेका छन् । यो राजा, महाराजाले गर्ने जस्तै प्रयास हो,’ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यावदले नयाँ पत्रिकासित भने, ‘पेलेर जबर्जस्तीमा ल्याउन खोजिएको संविधानले मुलुकलाई गम्भीर संकटमा फसाउँदै मुलुकलाई थप द्वन्द्वमा धकेल्ने काम गरेको छ ।’ प्रमुख दलको स्वार्थमा संविधान जारी गर्न खोजिएको भन्दै यादवले जनताको हितमा अर्को संविधान ल्याउन आन्दोलन गर्ने बताए ।

‘तीन नेताहरूले आफ्नो स्वार्थमा संविधान बनाउन खोजेका छन् । यसले जनताको हित गर्दैन,’ यादवले भने, ‘अब जनताको हितमा अर्को संविधान बनाउने तयारीस्वरूप आन्दोलन हुन्छ । पञ्चायतकालमा संविधान बनाएर लाद्दा शासकले के सोचेका थिए ? तर, त्यो त धराशयी भयो । अब पनि त्यस्तै हुन्छ ।’ तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले संविधानसभामा प्रक्रिया अघि बढाउनुलाई आश्चर्यका रूपमा नलिएको बताए । ‘तीन दलको यो सुनियोजित प्रयासलाई आश्चर्य मानेका छैनौँ,’ त्रिपाठीले नयाँ पत्रिकासित भने, ‘दुई दिन नुवाई–धुवाई गर्नुभयो अनि प्रक्रियामा प्रवेश गर्नुभयो । यसमा हाम्रो स्वामित्व रहँदैन ।’

आफूहरूसँग आन्दोलनको विकल्प नरहेको पनि त्रिपाठीको भनाइ छ । राज्यले अन्तिम अस्त्र प्रयोग गरेको उल्लेख गर्दै त्रिपाठीले अनिश्चितकालीन आमहडताल जारी रहने बताए । ‘आन्दोलनबाहेक अर्को विकल्प छैन । ३२ जनाभन्दा बढी मरिसके । कफ्र्यु जारी नै छ । उहाँहरूले आफ्नो मधेसी सभासद्का मुद्दा सम्बोधन गरेर सुरेन्द्र चौधरी, विमलेन्द्र निधिको दबाब सम्बोधनको प्रयास गर्नुभएको छ । तर, हामीले उठाएका प्रदेशको बनावटदेखि नागरिकताको विषय छोइएको छैन,’ त्रिपाठीले प्रमुख दलका शीर्ष नेतालाई चुनौती दिँदै भने, ‘तपाईंहरूले धेरैका माग सम्बोधन गरेका छौँ भन्ने ठान्नुभएको छ भने तराईमा गएर जनताको चित्त बुझाएर देखाउनुस् ।’

१६ बुँदेदेखि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सँगै भए पनि तीन दलले साथ लिन नसकेको भन्दै त्रिपाठीले प्रमुख दलको नियत नै राम्रो नरहेको बताए ।

थारू नरम थारुवान

थरुहट संयुक्त संघर्ष समितिका प्रवक्ता अमनलाल मोदीले आन्दोलनमा थारूहरूले उठाएका विषय फरक मतका रूपमा अगाडि बढ्ने भन्दै संविधानको उपलब्धिलाई रक्षा गर्दै आन्दोलन पनि गर्ने बताए । ‘थारू आन्दोलनका केही माग एमाओवादीले राखेको फरक मतका रूपमा पनि दर्ज भएको छ,’ एमाओवादीका सभासद्समेत रहेका मोदीले भने, ‘उपलब्धिलाई रक्षा गर्नुपर्ने विषय पनि छन् । यसलाई रक्षा गर्दै आन्दोलनमा पनि जान्छौँ ।’

जनता, देश र परिस्थितिअनुसार वार्ता र संवादबाट निकास दिन वार्तामा गएको उल्लेख गर्दै मोदीले सरकार नै गम्भीर नभएको आरोप लगाए । ‘सरकारले वार्ताका लागि बोलायो र हामीले वार्ताटोली पनि बनायौँ, तर आइतबार वार्ताका लागि जाँदा समस्या समाधानका लागि सरकार गम्भीर देखिएन । हामी अधिकारकै लागि आन्दोलन चर्काउन बाध्य छौँ, अब आन्दोलन चर्किन्छ ।’

बहुमतले पेले संयुक्त आन्दोलन : चौधरी

फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले प्रमुख दल बहुमतका आधारमा पेलेर गएमा संयुक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले अहिलेकै अवस्थामा जारी हुने संविधानले काम गर्न नसक्ने बताए । चौधरीले थारू, मधेसी, मुस्लिम, आदिवासी–जनजातिका माग सम्बोधन नगरी संविधान जारी गरिए मुलुक गृहयुद्धमा जाने चेतावनी दिए ।

अझै पनि वार्ताको सम्भावना नटरेको भन्दै उनले पेलेरै जाने नीति भए तराईमा आन्दोलित संयुक्त मधेसी मोर्चा, थारू आन्दोलनसहित सबैले संयुक्त आन्दोलन गर्ने चेतावनी दिए । ‘तीन दलको प्रयास थारू, मधेसी, मुस्लिम, पिछडिएको वर्गको हितमा छैन । यसरी पास भएको संविधान चल्दैन । त्यस्तो संविधानले राष्ट्र राजनीतिक द्वन्द्वमा जान्छ । र, देशलाई गृहयुद्धतिर धकेल्छ,’ चौधरीले नयाँ पत्रिकासित भने, ‘वार्ताको बाटोबाट अगाडि बढे द्वन्द्व समाधान हुन्छ ।

गणितले पेले ठूलो क्षतिलाई रोक्न सकिँदैन । वार्ताबाट समस्या समाधान गर्नुपर्छ । होइन, पेलेर गए हामी संयुक्त मधेसी मोर्चा, थारूलगायतसँग मिलेर संयुक्त आन्दोलन गर्छौँ । आन्दोलनको सम्भावना बढेर गएको छ । यस्तो आन्दोलन शान्तिपूर्ण हुनेछ ।’ -नयाँ पत्रिका

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.