Janakpur_reconstration
हुलाकी न्यूज, जनकपुरधाम २९ बैशाख । जनकपुरधामको विभिन्न मठ–मन्दिर तथा सार्वजनिक जग्गाहरु अतिक्रमण हुँदै गएको छ । उक्त अतिक्रमित जग्गालाई खाली गराउने अभियान एक वर्षअघि सुरु भएपनि जनकपुरधामका जग्गा माफीया तथा काँग्रेस र एमालेका नेताहरुको दबाबका कारण उक्त अभियान रोकिएको थियो ।

तत्कालिन एमाओवादी नेता तथा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माले उक्त अभियानलाई नेतृत्व गरेका थिए । तर अन्तिम समयमा काँग्रेस नेता विमलेन्द्र निधीसहितको दबाब निकै बढेपछि शर्मा पछि हट्नु परेको थियो ।

अहिले पुनः अतिक्रमित जग्गा खाली गराउने अभिायन सुरु हुँदैछ । गुठी संस्थानको स्वामित्वमा रहेको जग्गालाई व्यवस्थापन तथा अतिक्रमणमा परेको जग्गालाई संरक्षण गर्ने विषयमा मंगलबार अन्तरक्रिया भएको छ ।

केन्द्रिय गुठी संस्थान कार्यालय काठमाण्डौले गरेको ‘जनकपुरधामका गुठी जग्गा अतिक्रमण व्यवस्थापन’ सम्बन्धी सर्वपक्षिय अन्तरक्रिया कार्यक्रममा जग्गाको व्यवस्थापन तथा अतिक्रमण मुक्त सम्बन्धमा अधिकांश सहभागीहरुले जग्गा खाली गराउनु पर्ने बताए भने जनकपुरका केही गन्यमान्य व्यक्तिहरु त्यसको विरोध गरे ।

स्थानीय पत्रिका जनकपुर टुडेका अनुसार कार्यक्रमका अधिकांश सहभागीहरुले भुमाफियाको कब्जामा रहेको जग्गालाई अतिक्रमण मुक्त गर्नुपर्ने, लालपुर्जा बनेकाको लालपुर्जा खारिज गर्नुपर्ने र बांकी रहेका जग्गाको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी जनकपुरका भूमाफीयाहरुले प्रक्रिया पुरा गरेर अतिक्रमणमा परेका जग्गाको लालपुर्जाको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, गुठी प्रमुख तथा मन्दिरका महन्थहरुको आर्थिक चलखेल तथा मिलिभगतमा जग्गा अतिक्रमणको क्रम जारी रहेको दावी गर्दै सहभागीहरुले अनुसन्धान गरी कानुनी कायरामा ल्याउनुपर्नेमा जोड दिए । जनकपुरधामको जानकी मन्दिरको करिब दुई सय विगहा जग्गा महन्थ रामतपेश्वर दासले विक्री गरेको यसअघि सञ्चारमाध्यमहरुमा आएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपालीले गुठी प्रमुख तथा प्रहरी प्रशासनको मिलिभगतमा गुठीको जग्गा दिनप्रतिदिन अतिक्रमणमा पर्ने गरेको दावी गरे । अतिक्रमण गरेका मध्ये केहीलाई लालपुर्जा प्रदान गर्नु आर्थिक चलखेलको भएको कुरा स्पष्ट देखिएको उनको कथन थियो ।
नागरिक समाजका अगुवा तथा समाजसेवी अमरचन्द्र अनिलले सयौं बिग्हा जग्गा गुठीले रकमको चलखेलमा बेचेको दावी गर्दै बांकी रहेको जग्गा पनि बेच्ने दाउमा रहेको उल्लेख गरे । बांकी रहेको जग्गाको संरक्षण तर्फ पनि गुठीले ध्यान नदिएको उनले आरोप लगाउंदै सबै जनकपुरबासी मिलेर जग्गाको संरक्षण तथा शौन्दर्यीकरणमा लाग्नुपर्नेमा जोड दिए ।

अर्का नागरिक समाजका अगुवा नथुनीलाल दासले गुठीले जग्गा मनपरी रुपमा बिक्रिवितरण गरिरहेको दावी गर्दै जानकी मन्दिरको पौराणिक गरगहनाहरुमाथि पनि अधिकार जमाएको आरोप लगाए ।

महावीर युवा कमिटीका अध्यक्ष धर्मेन्द्र साहले पनि गुठी संस्थान रकम असुलीको अडडा भएको बताए । स्थानीय स्तरबाट उठेको रकम जनकपुरकै शौन्दर्यीकरण तथा विकासमा खर्च गर्नुपर्नेमा उनले जोड दिए ।

जनकपुरमा विभिन्न १२ वटा मन्दिरको नाममा गरी ३ सय ५१ बिग्हा भन्दा बढी जमिन भएपनि गुठी प्रमुख, मन्दिरका महन्थ तथा प्रहरी प्रशासनको मिलिभगतमा दिन प्रतिदिन अतिक्रमणको चपेटामा परिरहेको छ ।

तर पछिल्लो समय स्थानिय स्तरबाट चर्को विरोध हुन थालेपछि अतिक्रमित जग्गा खाली गराउने कार्यमा सहयोग जुटाउन गुठी संस्थानले सरोकारबालाहरुसित छलफल गरेको हो । भोजराज घिमिरेको संयोजकत्वमा २०६३ मा गरिएको अध्ययन अनुसार १२ गुठी र मठमन्दिर गरी २३ विग्हा भन्दा बढी जग्गा विभिन्न ८ सय ९६ जना व्यक्तिले अतिक्रण गरेको पाइएको छ ।

file : Photo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.