
हुलाकी न्यूज, काठमाडौं २८ बैशाख । तराई–मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशन अघि नै भातृ संगठन तराई–मधेश विद्यार्थी फ्रण्टको महाधिवेशन हुँदैछ । जसमा अध्यक्ष पदका लागि विद्यार्थी नेताहरुबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।
पार्टी महाधिवेशनको पनि तिथी तय भइसकेको छ । अध्यक्ष पदमा वर्तमान अध्यक्षकै निरन्तरता रहने देखिन्छ भने अन्य पदहरुमा सहमतिय आधारमा चयन गरिने पार्टी भित्र समीकरण बन्दैछ ।
तर विद्यार्थी संगठनमा अलिक फरक देखिएको छ । बाराको कलैयामा बैशाख २९, ३० र ३१ गते विद्यार्थी फ्रण्टको महाधिवेशनको तयारी तीब्र रुपले भइरहेको अध्यक्ष सुरेश मण्डलले हुलाकी न्यूजलाई बताए ।
मण्डलका अनुसार पार्टीको प्रथम महाधिवेशन अघिनै विद्यार्थी संगठनको लोकतान्त्रिक प्रक्रियाबाट मधिवेशन हुनेछ । अध्यक्ष मण्डलले आफु पार्टीको केन्द्रीय सदस्य पदमा रहेकोले अव विद्यार्थी संगठनलाई प्रक्रिया अनुसार नेतृत्व हस्तान्त्रणका लागि आफु तत्पर रहेको बताए ।
उनले महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष महन्थ ठाकुरले गर्ने जनाए ।
विद्यार्थी फ्रण्टको अध्यक्ष पदमा हालसम्म तीन जनाले दाबेदारी गरेका छन् । मनिष मिश्रा, शम्भु निर्दोशी र अजय झा अध्यक्ष पदका दबाबेदार हुन् ।
पार्टी नेतृत्वले सहमतिको आधारमा अध्यक्ष चयन गर्ने पहल गरे पनि विद्यार्थी नेताहरुबीचको प्रतिस्पर्धाले सहमतिय आधारमा नेतृत्व चयन हुन सक्ने सम्भावना न्यून रहेको छ ।
अध्यक्ष पदका प्रबल दाबेदारका रुपमा महासचिव मनिष मिश्रा देखिएका छन् । उनलाई पार्टी भित्रको महामन्त्री सर्वेन्द्रनाथ शुक्लालगायतका नेताहरुको समर्थन रहेको छ ।
मिश्राले हुलाकी न्यूजसँग कुराकानी गर्दै मधेशमा टेक्निकल युनिर्भसिटीको आवश्यकता रहेकोले आफ्नो विद्यार्थी राजनीति त्यसमै केन्द्रीत रहने दाबी गरे । उनले स्नातक तहका मधेशी विद्यार्थीका लागि शैक्षिक भत्ता वा रोजगारीको माग गर्दै आएका छन् ।
त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदबार हुन् शम्भु झा निर्दोशी । पहिलो मधेश आन्दोलनताका जनकपुरधामबाट राजनीति सुरु गरेका निर्दोशी अहिले पनि विद्यार्थी राजनीतिमा सक्रिय रहेका छन् ।
अध्ययन क्षेत्रमा चाख राख्ने निर्दोशी राजनीतिक विषय बस्तुमा दखल राख्छन् ।
त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदबार हुन् अजय झा । आफुले तराई–मधेश सहित नेपालका सम्पूर्ण विद्यार्थीलाई समेट्ने गरी कार्यनीति लिएको बताएका छन् । झाले विद्यार्थी राजनीतिलाई शैक्षिक विकास तथा उत्थानका लागि प्रयोग गर्न आवश्यक रहेको बताउँछन् । उनी आफुलाई पार्टीको संस्थापन पक्षको समर्थन रहेको हुलाकी न्यूजलाई बताएका छन् ।
त्यस्तै अध्यक्ष पदका अन्य उम्मेदबारहरु पनि रहेका छन् । उनीहरु महाधिवेशन स्थलमै उम्मेदबारी घोषणा गर्ने सुरमा रहेका छन् ।



