हुलाकी न्यूज, काठमाडौं २७ भदौ । मधेशी–थारु, आदिवासी–जनजाति र दलितसहित सीमान्तकृत समुदायको अधिकार खोसिन लागेको भन्दै एमाओवादीका नेता तथा सभासद् प्रभु साह संविधानसभाको मतदान प्रक्रिया बहिस्कार गरेका छन् ।

उनले असमति पत्र दर्ता गराउँदै मतदान प्रक्रियामा सहभागी नहुने जनाएका छन् ।

जनविरोधी र अवैधानिक संविधान आउन लागेकोले यसमा लाह छाप लगाउन नसकिने भएकोले संविधानसभाको मतदान प्रक्रियाबाट बाहिरिएको हुलाकी न्यूजलाई बताएका छन् ।

साहले पत्रमा लेखेका छन्,

‘महान् जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनलगायतका आन्दोलनहरुमार्फत नेपाली जनताको त्याग, संघर्ष र बलिदानको बलमा प्राप्त उपलब्धीहरुलाई विगतका सहमति, सम्झौता र अन्तरिम संविधानको आधारमा संविधानसभा नियमावली बमोजिम सबै नेपालीहरुको अपनत्व हुने नयाँ संविधानको मस्यौदा निर्माण गर्नुको सट्टा विगतको सहमति र सम्झौता उल्ट्याउने, अन्तरीम संविधानको मर्म र भावना विपरीत संविधानसभाले स्वामित्व ग्रहण गरी सर्वसम्मत गरेको निर्णय समेतको बेवास्ता गर्दै खास गरी मधेशी, जनजाति, दलित, महिला र मुस्लिमलगायत सम्पूर्ण उत्पीडित र सीमान्तकृत वर्गको अधिकार खोस्ने साथै पहिचान र सामथ्र्यका आधारमा समग्र तराईमा मधेश र थरुहट गरी दुई प्रदेशको सिमाना निर्धारण गर्ने विषय, न्यायपालिका र संबैधानिक अंगहरुलगायत समग्र राज्यलाई संघीय बनाउने विषय, राज्य र सुरक्षा प्रणालीसहित राज्यशक्तिको बाँडफाँड संघीय मान्यता अनुरुप व्यवस्था गर्ने विषय, राज्यको सबै तह र निकायमा निर्वाचन क्षेत्र निर्धारण गर्ने जस्ता परिर्वतनका आधारभुत विषयहरु अस्वीकार गर्ने गरी संविधानको अन्तिम मस्यौदा आउनु दुःखद कुरा हो ।

आज देशमा विभिन्न माग राखी मधेशी, थारु, जनजाति, दलित, महिला, मुस्लिमलगायत उत्पीडित आम नेपाली जनता लामो कालदेखि आन्दोलित भई तराईलगायतका देशको महत्वपूर्ण क्षेत्रहरु झण्डै एक महिनादेखि बन्द–हड्ताल क्षेत्र घोषणा, कर्फयू र निषेधाज्ञासहित हत्या हिंसाको राज्य आतंकमार्फत आन्दोलन दबाउने दुस्प्रयास गरी रहेको छ । यस भयावह गम्भीर स्थितिलाई जनताबाट निर्वाचित यो संविधानसभाले नजरअन्दाज गर्नु साथै यस सम्मानित संविधानसभामा ती क्षेत्रको माननीय सदस्यहरु लिखित र मौखिकरुपमा आफ्ना माग र आजाव पटक–पटक उठाउँदै, कतिपय माननीय सदस्यहरु बैठक बहिस्कार र प्रक्रियाबाट समेत अलग हुँदा पनि यसबारे संविधानसभाले गम्भीरता नदेखाउनु लज्जास्पद विषय हो ।

यसर्थ संविधान निर्माणको अन्तिम चरणसम्म आई पुग्दा संविधानसभाले ती जायज मागहरुलाई सम्बोधनको लागि कुनै तत्परता नदेखाई जर्बरजस्ती पुरानै गलत निर्णय थुपार्ने र संकटलाई झन् बढाउन उद्दत रहेको यस गम्भीर स्थितिमा सोही क्षेत्रको म जनप्रतिनिधि यस गलत, जनविरोधी र एवं अबैधानिक कार्यको लाचार छाँया र निरिह साक्षी बनेर लाह छाप लगाउन नसकिने व्यहोरासहित संविधानसभाको यस मस्यौदामाथिको मतदान प्रक्रियाबाट अलग भएको जानकारी गराउँदछु ।’

 

Prabhu-Sah-note-of-dicent

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.