
हुलाकी न्यूज, काठमाडौं २७ बैशाख । अग्निपीडित परिवारलाई प्रदान गरिएको राहतमा सरकारले विभेद गरेको प्रमाणहरु फेला परेका छन् ।
सरकारले पहाडका अग्निपीडितहरुलाई प्रदान गरेको राहतको तुलनामा मधेशका अग्निपीडितहरुलाई निकै न्यून सहयोग गरेका छन् ।
जवकी आगलागीबाट पहाडभन्दा मधेशमा अत्याधिक क्षति भएको छ । मधेशको घनाबस्तीमा भएको आगलागीमा पीडित परिवारले सबै थोक गुमाएका छन् ।
हालै गुल्मी र श्यांजामा भएको आगलागीमा पीडित परिवारहरुलाई सरकारले नगद रकमसहित जस्ता पाता तथा उपयोगी सामाग्रीहरु वितरण गरेको छ ।
गल्मीका ६२ अग्निपीडित परिवारलाई सरकारले प्रति परिवार आठ हजार नगद, एक कुन्टल चामल र दुई बन्डल(आठ ओटा) जस्ता पाता वितरण गरेको छ । सरकारी पहल तथा स्थानीयहरुको सहयोगमा एक सय ६० जना व्यक्ति र संस्थाहरुले त्यहाँ सहयोग गरेका छन् ।
गुल्मीका अग्निपीडितहरुका लागि हाल ४० लाख नजद जम्मा रहेको छ । स्थानीय विद्यालयको भवन खाद्य सामाग्रीले भरिएको छ । अग्निपीडित व्यवस्थापन समितिले जनाए अनुसार प्रति परिवार आठ कुन्टलका दरले चामल वितरण गर्न सक्ने अवस्था त्यहाँ रहेको छ ।
अन्य खाद्य सामाग्रीहरु पनि त्यती कै मात्रामा रहेको र सरकारी पक्षबाट थप सहयोग आउन लागेको बताइएको छ ।
आगलागीमा मृत्यु भएका एक जनाको परिवारलाई सरकारले ४० हजार नगद प्रदान गरेको छ ।
त्यस्तै श्यांजाको अग्निपीडित १२ परिवारलाई सरकारले प्रति परिवार ६ हजारको दरले नगद प्रदान गरेको छ । त्यस्तै प्रतिपरिवार दुई बण्डल जस्ता पाता पनि दिइएको छ । सरकारी पक्षबाट थप सहयोग आउने क्रममा रहेको स्थानीय बुद्धिजिविहरुले बताएका छन् ।
श्याँजाका अग्निपीडितहरुलाई जापान, यूएसए, यूएईलगायतका देशका संस्थाहरुले सहयोग गरेका छन् । भुपु सैनिक संघ, रेडक्रस, आमा समुह, बोडिङ्ग स्कुल तथा बजार व्यवस्थापन समितिले समेत सरकारी पहलमा सहयोग गरेको छ ।
मधेशमा अग्निपीडितलाई सरकारले
सप्तरी, सिरहा, कपिलस्वतुलगायतका जिल्लामा आगलागी हुँदा राहत वितरणमा सरकारी पक्ष मौन रहेको छ । राहत वितरणका लागि सरकारमाथि सर्वोच्च अदालतमा रिट पर्दा समेत कुनै पहल भएको छैन ।
कपिलबस्तुलाई केन्द्रीत गरि सर्वोच्चमा रिट दायर हुँदा कपिलबस्तुका अग्निपीडित परिवारलाई दुई हजार, तीन हजार र केही परिवारलाई पाँच हजार नजद प्रदान सरकारी पक्षले प्रदान गरेको छ ।
तर मधेशका अन्य जिल्लाका अग्निपीडितहरुलाई सरकारी पक्षबाट राहत प्रदान भएको छैन । केही स्थानमा आगलागी भएको दोस्रो वा तेस्रो दिन स्थानीय प्रशासनले गएर जानकारी मात्र लिने गरेको छ ।
मधेशका अग्निपीडितहरु खुल्ला आकाश मुन बस्न बाध्य रहेको अवस्थामा अहिलेसम्म जस्ता पाता अथवा त्रिपालसमेत राज्य पक्षबाट उपलब्ध गराइएको छैन ।
मधेशका अग्निपीडितहरुलाई केही संघ–संस्थाले समान्य सहयोग गरे पनि त्यो न्यून रहेको छ ।
मधेश र पहाडका अग्निपीडितहरुलाई राहत वितरणमा सक्रिया समाजसेवी युवा सरोज रायले हुलाकी न्यूजसँग कुराकानी गर्दै मधेश र पहाडका अग्निपीडितहरुमा राज्य पक्षबाट विभेद गरिएको सुनाए ।
सोमबार मात्रै गल्मी र श्यांजामा राहत वितरण गरेर फर्केका राय भन्छन्,‘त्यस क्षेत्रमा सरकारले संतोषजनक सहयोग गरेको छ तर मधेशका जिल्लाहरुमा मैले त्यस्तो सहयोग देखेको छैन । मधेशका अग्निपीडितहरु अहिले पनि खुल्ला आकाश मुनी छन् ।’
समाजसेवी रायले सरकारलाई यस्तो विभेद नगरी क्षतिको आधारमा राहत वितरण गर्न आग्रह गरे ।



