
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर(धनुषा) २६ बैशाख । सरसफाई मुख्य अभियानसहित क्षिरेश्वरनाथ नगरपालिकाले शनिबार दोस्रो बार्षिकोत्सव मनाएको छ । नगरपालिकाको प्राङ्गणमा कार्यक्रम गरी दोस्रो बार्षिकोत्सव मनाइएको हो ।
नगरपालिकाको स्थापना भएको धेरै समय नभएको हुँदा बिना तामझाम बार्षिकोत्सव कार्यक्रम गरेको नगरपालिकाका कार्यकारी अधिकृत उमेश कुमार यादवले बताए ।
नगरपालिकामा विकासका धेरै सम्भावना रहेको हुँदा त्यसतर्फ मात्रै अहिलेलाई ध्यान केन्द्रित गरिएको यादवको कथन थियो । नगरपालिकामा सरसफाई ठूलो चुनौती रहेकोले स्थापना दिवस मनाउनका लागि विभिन्न वडाहरुमा सरसफाई सम्बनधी अभियान चलाएर मनाउने क्रम जारी राख्ने यादवले बताए ।
कार्यक्रममा सहभागी वक्ताहरुले समेत नगरपालिकालाई स्वच्छ र सफा बनाउनु तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
नगरपालिकाका कार्यकारी अधिकृत यादवको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खानेपानी सरसफाई समन्वय समिति कार्यदलका विजय कुमार यादव, विजय कुमार मल्लिक, युनिसेफका राकेश मल्लिक, नगर स्तरीय खानेपानी सरसफाई समन्वय समितिका पदाधिकारी तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
नेपाल सरकारले २०७१ बैशाख २५ गते साविकका ४ वटा गाविस रमदैया भवाडी, सखुवा महेन्द्रनगर, हरिहरपुर र दिगम्बरपुरलाई मिलाएर क्षिरेश्वरनाथ नगरपालिकाको स्थापना गरेको थियो ।
५६.७८ वर्ग किलोमीटर क्षेत्रफल रहेको यो नगरपालिकाको कुल जनसंख्या ४३ हजार ७४५ रहेको छ ।




