Janaki_tempal-2
अमरेन्द्र कुमार यादव, जनकपुरधाम २५ बैशाख ।
एक वर्ष पहिले धनुषा प्रहरीद्वारा जनकपुरस्थित जानकी मन्दिरको प्राङगणमा प्रहरी सहायता कक्षको स्थापना गरिएको थियो । प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा दैनिक हजारौको संख्यामा देशभित्र र बाहिरबाट पर्यटकहरु आउने गर्छन् ।

हिन्दुहरुको प्रमुख धार्मिक स्थलको रुपमा रहेको जानकी मन्दिर परिसरमा उच्छृंखल कृयाकलाप नहोस् भन्ने उदेश्यले धनुषा प्रहरीद्वारा जानकी मन्दिरको प्राङगणमा प्रहरी सहायता कक्षको स्थापना गरिएको थियो । तर अहिले सहायता कक्षमा प्रहरी नै बस्दैनन् ।

प्रहरी सहायता कक्ष भनेर लेखिएको सहायता कक्ष व्यानरमा सिमित

जानकी मन्दिरको प्राङगणमा स्थापना गरिएको प्रहरी सहायता कक्ष भने प्रहरी सहायता कक्ष लेखिएको व्यानरमै सिमित रहेको छ । धनुषा प्रहरीद्वारा जानकी मन्दिर परिसरमा उच्छृंखल कृयाकलाप रोक्न, स्थानिय तथा दर्शनार्थीहरुको सहयोग गर्न मन्दिर परिसरलाई सफा सुघर राख्न प्रहरी सहायता कक्षको व्यवस्था गरिएको थियो ।

तर हाल प्रहरी सहायता कक्षमा प्रहरी नै नभएपछि दर्शनार्थीहरुलाई व्यानर हेरी चित बुझाउनु पर्ने अवस्था रहेको छ । स्थानिय प्रत्यक्षदर्शीहरुको भनाई अनुसार केही महिना पहिले नेपालको संविधान २०७२ मा विवाद बारे शुरु भएको आन्दोलनदेखि सो प्रहरी सहायता कक्षमा सुरक्षाकर्मीको उपस्थिति छैन ।

पर्यटकीय प्रहरी कार्यालय पनि व्यानरमै सिमित

करिब दुई वर्ष पहिलेदेखि पर्यटकलाई सुरक्षा प्रदान, ऐन कानुन सम्बन्धी जानकारी र आवश्यकताअनुसार सेवा प्रदान गर्ने उद्देश्यले जानकी मन्दिर परिसरमा पर्यटक प्रहरी कार्यालयको स्थापना गरिएको थियो ।

कार्यालयले पर्यटकको सुरक्षा र पर्यटन प्रवद्र्धनको काममा क्रियाशील संघसंस्था तथा निकायसँग समन्वय गर्ने, पर्यटनसम्बन्धी गम्भीर अपराध सम्बन्धित राजदूतावासलाई जानकारी गराउने र पर्यटकबाट उजुरी लिने तथा चोरी भएका वस्तुहरुबारेमा प्रहरीलाई जानकारी दिने उदेश्यले सुरु गरिएको सो पर्यटकीय प्रहरी कार्यालय पनि व्यानरमा सिमित रहेको छ । सो पर्यटक प्रहरी कार्यालयको उद्घाटन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले गरेका थिए ।

कार्यालयको उद्घाटन गर्दै पर्यटकीय क्षेत्रको विकास गर्न सकेको खण्डमा समग्र जिल्लाको आर्थिकस्थिति सुदृढ हुने धारणा राखेका थिए तर अहिले पर्यटकहरुलाई व्यानर मात्रै हेर्नु परेको छ ।

प्रहरी सहायता हटाईएको छैन : एसपी जोसी

यस विषयमा भने धनुषाका एसपी रामदत्त जोसीले हुलाकी न्यूजसँग भन्छन्,‘मन्दिरको प्राङगणबाट प्रहरी सहायता कक्ष हटाईएको छैन । त्यहाँ सुरक्षाकर्मीहरु बिहानदेखि साँझसम्म डयूटीमा नै हुन्छन् । हुनसक्छ उनीहरु आफ्नो व्यक्तिगत काममा कुनै बेला तोकिएको स्थानमा नहुनसक्छ अथवा मन्दिरको अर्को परिसरमा पनि हुन सक्छ ।’

Janaki_tempal-1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.