
हुलाकी न्यूज, काठमाडौं २४ बैशाख । एमाओवादीले एमाले नेतृत्वको सरकार ढाल्नै लाग्दा एमाले र एमाओवादीबीच विहीबार अबेर राति नौ बुँदे सहमति भएको छ । जसमा आन्दोलनरत पक्षको मागलाई नजर अन्दाज गरिएको छ ।
संविधान संशोधन तथा संघीयताको पुर्नसंरचनाको माग गर्दै आन्दोलनमा रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २७ दलीय संघीय गठबन्धनका माग बारे दुबै पार्टी चिन्तित देखिएको छैन ।
सहमतिको बुँदा नम्बर दुईमा भनिएको छ,‘संघीयता लगायतको विषयमा तराई मधेश केन्द्रीत समेतका कतिपय राजनीतिक दलहरुले उठाएका विषयमा छलफल गरी राजनीतिक सहमतिको आधारमा टँुगो लगाउने ।’
तर यस विषयमा सहमतिका लागि समिति निर्माण भएपनि हालसम्म दुबै पार्टीले खासै चाँसो देखाएको छैन ।
सहमतिका अन्य बुँदाहरुमा जनयुद्धका मुद्दाहरुले प्राथमिकता पाएको छ भने मधेश आन्दोलनमा मारिएका तथा मुद्दा लगाइएकाहरुलाई ‘बाल मतलब’ गरिएको छ ।
माओवादी द्धन्द्धका मुद्दाहरु फिर्ता लिन तथा अन्य कुरा संशोधन गर्न १५ दिनभित्र कानुनि प्रक्रिया अगाडि बढाउने सहमति पनि भएको छ ।
यता मधेशी मोर्चाले उठाउँदै आएको ११ बुँदे मागमाथि दुबै पार्टी गम्भीर नभएको सहमतिका बुँदाहरुबाट प्रष्ट हुन्छ ।



