nijgadh_International_505777482

हुलाकी न्यूज, बारा २२ बैशाख । नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको त्रिभुवन विमानस्थलको विकल्पका रूपमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा चलेको धेरै समय बितिसकेको छ । २०७१ साल फागुनमा त्रिभुवन विमानस्थलको रन वेमा टर्किस विमान चिप्लिएर दुर्घटनाग्रस्त हुँदा चार दिनसम्म अन्तर्राष्ट्रिय हवाई उडान अवरुद्ध हुन पुगेको थियो । यो घटनाले नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता झन् महसुस गराएको थियो ।

यही आवश्यकता महसुस गरी निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रियालाई सरकारले छिट्टै सुरु गर्ने जनाएको थियो । तर, अझै पनि काम सुरु हुन सकेको छैन । हालसम्म विमानस्थल निर्माणस्थलका लागि चार किल्ला छुट्याएर साइनबोर्ड राख्ने काम मात्र भएको छ ।

विमानस्थलका लागि छुट्याएको जग्गामा वस्ती पनि रहेकाले यी वस्ती स्थानान्तरण र नम्बरी जग्गाको मुआब्जा दिई आवश्यक जग्गा अधिग्रहण गर्ने जस्ता काम अझै गरिएको छैन । विमानस्थल क्षेत्रमा पर्ने वस्ती स्थानान्तरणका लागि बजेट विनियोजन गरिए पनि काम अगाडि बढ्न सकेको छैन ।

यसबीचमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले तत्काल काम सुरु गर्न पनि सरकारलाई निर्देशन दिइसकेको छ । तर, मधेशको समृद्धिमा कोशे डुंगा सावित हुने यो विमानस्थल निर्माण कार्यलाई सरकारले बेवास्ता गर्दै आएको छ ।

हुन त सरकारलाई दबाब दिनका लागि बेलाबेलामा निजगढमा प्रदर्शनसमेत हुने गरेका छन् । यो विमानस्थलको निर्माणमा १ खर्ब २१ अर्ब लाग्ने अनुमान छ ।यो लागत एयरपोर्ट सिटी बाहेकको हो ।

निजगढ विमानस्थलबारे प्रारम्भिक सम्भाब्यता अध्ययन २०५३ सालमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.