Tharuhat_protest
हुलाकी न्यूज, काठमाडौं २१ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनले आन्दोलन जारी राखेको अवस्थामा थारुहरुले पनि आन्दोलनको घोषणा गरेका छन् ।

थरुहट–थारुवान संयुक्त संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको छ ।

संघीय गठबन्धनसँग पनि आन्दोलनमा सहकार्य हुने थारु अगुवाहरुले पत्रकार सम्मेलनमा बताएका छन् ।

संघर्ष समितिले सार्वजनिक गरेको कार्यक्रममा बैशाख २४ गते सम्पूर्ण जिल्लामा थारुजातीय संगठनहरुबीच सर्वपक्षीय बैठक गर्ने रहेको छ ।

त्यसपछि २५ गते महोत्तरी, सर्लाही, रौतहत, २६ गते बारा र पर्सा, २७ गते झापा, मोरङ, सुनसरी, २८ गते सप्तरी, सिराहा, उदयपुर र २९ गते रुपन्देही, कपिलबस्तु, ३० गते बर्दिया, ३१ गते कैलाली, चितवन, नवलपरासी, जेठ १ गते कञ्चनपुर, दाङमा विरोधसभा गर्नेछ ।

जेठ १ गते मशाल जुलुस गर्ने र जेठ २ गते मधेश–थारुहटका जिल्लामा आमहडताल गर्ने समितिले जनाएको छ ।

समितिले आफूहरुले प्रस्तुत गरेको सात बुँदे सर्त र १३ बुँदे राजनीति मागहरुमा नौ महिनादेखि छलफल समेत हुन सकेको गुनासो गर्दै आफूहरु बाध्य भई आन्दोलनमा जानु परेको दाबी गरेका छन् ।

थारुहरुको आन्दोलनमा पहिलो र दोस्रो मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका किशोर विश्वास पनि सक्रिय भएका छन् । त्यस्तै हालै नागरिक समाजवादी पार्टी गठन गरेका राजकुमार लेखी पनि सहभागी छन् ।

थरुहट आन्दोलनको समर्थन थारुसँग सम्बन्धीत राजनीतिक दल तथा विभिन्न संघ–संगठनले गरेका छन् ।

पत्रकार सम्मेलनमा विश्वासले टिकापुर घटाएर राज्य र प्रमुख दलले आन्दोलनलाई तुहाउन षडयन्त्र गरेको आरोप लगाउँदै संविधान थारु र थारुहट विरुद्ध भएकोले पहिलो चरणको आन्दोलनमा प्रतिक्रिया हेरेर दोस्रो चरणमा अझै शसक्त आन्दोलन गर्ने स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.