
हुलाकी न्यूज, मोरङ २० बैशाख । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशन विराटनगरमा सुरु भएको छ । पार्टी गठन भएको साढे ६ वर्षपछि फोरम लोकतान्त्रिकको यो पहिलो महाधिवेशन हो । महाधिवेशनले पार्टीको विधान, राजनीतिक र संगठनसम्बन्धी प्रस्ताव तथा नयाँ नेतृत्व चयन गर्नेछ ।
यसका साथै केन्द्रीय समितिले अन्तिम रूप दिएको राजनीतिक र सांगठनिक प्रतिवेदन महाधिवेशनमा प्रस्तुत गरिने छ । महाधिवेशनले पार्टीको संरचनालाई संघीयताको स्वरूपसँग मिल्ने गरी बनाउने जनाइएको छ ।
संविधानसभाको दोस्रो चुनावपछि फोरम लोकतान्त्रिकका १० समानुपातिक र चार प्रत्यक्ष निर्वाचितसहित १४ सांसद छन् । महाधिवेशनमा दुई हजार पाँच सय प्रतिनिधि तथा पाँच सय पर्यवेक्षकको सहभागिता छ ।
महाधिवेशन तीन दिन चल्नेछ ।



