2

हुलाकी न्यूज, सप्तरी १९ बैशाख । गर्मी मौसममा अत्यधिक आगलागी हुने सप्तरीमा अग्नि प्रतिरोधी घर बनाउन सुझाइएको छ । हरेक वर्ष ठूलो जनधनको क्षति ब्यहोर्दै आएको सप्तरीबासीलाई स्थानीय प्रशासन तथा विज्ञानप्रविधिसम्बद्ध संस्थाका प्रतिनिधिले यस्तो सुझाव दिएका हुन् ।

आइतवार सप्तरीको हरिपुर र देउरी भरुवामा निर्माण गरिएका अग्नि प्रतिरोधी घर उद्घाटन कार्यक्रममा उनीहरूले थोरै लगानीमा वैज्ञानिक प्रविधिबाट बनाइएका यस्ता घरमा आगलागी नहुने र भइहाले पनि क्षतिको सम्भावना न्यून हुने बताए ।

त्यसक्रममा सर्वसाधारणलाई विश्वास दिलाउन अग्नि प्रतिरोधी घरमा आगो लगाएरसमेत देखाइएको थियो । स्थानीय प्रशासन र रेडक्रसको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले हरिपुर र देउरी भरुवामा अग्नि प्रतिरोधात्मक घरको प्रदर्शनी गरेको थियो । पराल, डोरी, माटो, बालुवा र प्लास्टिकको पाल प्रयोग गरी बनाइएको घरमा आगो लगाउँदा केहीबेर बलेर आफैं निभेको थियो ।

अग्नि प्रतिरोधात्मक घरका अनुसन्धानकर्ता एवम् नाष्टका उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलले क्षति न्यूनीकरणका लागि वैज्ञानिक पद्धतिअनुसार अग्नि प्रतिरोधात्मक घर निर्माणको अवधारणा ल्याएको बताए । यस्तो घर बनाउन ५ देखि ७ हजारसम्म पर्ने उनको भनाइ थियो ।

त्यसक्रममा अग्नि प्रतिरोधक घर बनाउने तरिकाबारे प्रशिक्षणसमेत दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.