
दीक्षा दहित
दुनियाँमा खेलिने सतरन्जको खेलमध्ये तास (पत्ति)द्वारा चार मित्र मिलेर खेलिने एक जुवाको खेल हो ‘दहेला पकड’। मित्रलाई सत्रु र सत्रुलाई मित्र बनाउने पुरानो तासको एकमात्र खेल हो ‘दहेल पकड’। जुवा खेल्दा मान्छेभित्र रहेको एउटा शुसुप्त ग्रन्थी यति सक्रिय हुन्छ कि उसले धनजन के स्वयं आफूलाई दाउँमा लगाएको समेत थाहा हुँदैन। सत्ता, सम्पत्ति, शासनले भरिपूर्ण अंग्रेजहरुको मन बहलाउने र दुश्मन नबाबहरुको चित्त दुखाउन खेलिएको अत्यन्त चर्चित पत्तिको खेल हो ‘दहेल पकड’।
मैले दहेल पकड खेलको परिभाषा र यस शीर्षकमा लेख्न खोजेको कारण यतिमात्र हो, संयोगले नेपालको थारु–मधेस आन्दोलनसँगै अन्तर्राष्ट्रिय सम्बन्धको पासा दहेल पकडजस्तै बन्न पुग्यो।
पत्तिको खालमा चार जना खेलाडीको दुई दुई जनाको समूह हुन्छ दहेल पकडमा। लेखिकाले इतिहासको दहेल पकड खेलमा देखेको एउटै तथ्य हो भारत र नेपाल यसका लागि पार्टनर बन्थे भने उत्तरको चीनसँग कहिले युरोपियन युनियन (अमेरिका) त कहिले नेपालभित्रका अत्यन्त कमजोर खेलाडी पार्टनरका रुपमा हुन्थे। यसपाली घरभित्रकै अंशबन्डामा पूर्वाग्रहित नेपाल भारतसँग त्रसित हुँदै चीनलाई पार्टनरका रुपमा चुन्न पुग्यो। अब दहेल पकडको खालमा नेपाल चीन मित्र मित्र र भारत, युरोपियन युनियन (अमेरिका) मित्र मित्र भइ खालमा बसे। नेपालले पत्ता बाँड्यो, चाल भारतले चाल्यो।
हुकुमको एक्का खालमा झर्यो, चीनले हुकुमको बास्सा चलेर खेलको समर्थन जनायो। भारतको चालमा हुकुमको एक्का चलेपछि युरोपियन युनियनले दहेला फ्याँक्यो (दहेला पकडको खेलमा जित ठूलो पत्तिले होइन कि चासको चार दहेलाले निर्धारण गर्छ)। संजोगले नेपालले हुकुमको रङ देखेन र चिडियाको दहेला फ्याँकेर सर खोल्यो। एकै चालमा दुई दहेला खाएपछि नेपाल अत्यन्त उत्साहित भयो भने भारत र युरोपियन युनियन निरास बने। अब खेलमा बाँकी दुई दहेला नखाए पनि नेपाल चीन पार्टनरसिपमा खेल बरोबरीमा टुंगिने भयो। पत्ता, सत्तरन्ज जुवा (आफैं बुझ्नुहोस्)को खेलमा कहिल्यै नजित्ने नेपाल खुसीले उफ्रिन थाल्यो, खेल अहिलेसम्म चल्दैछ।
दुई दहेला खाएर भारतलाई चुनौति दिएको खेलमा अब खाएको हत्ताले जीत निर्धारण गर्छ। जीत जसको पो होस् दुई दहेला खाएपछि नेपाल मख्ख छ। हुनपनि किन नहोस्? हात्तीको एक कुल्चाइमा लाखौं कमिलाको मृत्यु हनसक्छ तर एउटै कमिलाले सुँडमा टोकेपछि हात्ती चिच्याउन थाल्छ, रुन थाल्छ, आखिर नेपालले भारतको यो हविगत जो बनाएको थियो। तर… अकाश्मात पत्तिको चाल चल्दै जाँदा चिडियाको बथानमा हुकुमको दुक्का लुकेको नेपाललाई हेक्कै रहेनछ।
लौ… विस्मात पर्यो। अब हुकुमको दुक्काको चाल चल्यो भने भारतले छोप्नेछ र नेपालले खेल हार्नेछ, नेपाल चिन्तित हुन थाल्यो। अब नेपाल त्यसै चिच्याउँदै निहुँ खोज्न थाल्यो (जुन प्रायः तासको खालमा हुन्छ)। भारत र युरोपियन हुकुमको रङ्गको पत्ति खोज्न थाले, चीन दंग पर्यो। अब जुन चालमा हुकुमको दुक्का पक्राउ पर्छ, नेपालले खेल हार्छ।
मैले माथि लेखेको पंत्तको खेलसँग नेपाली राजनीतिको तुलना तपाईँले कति बुझ्नुभयो थाहा भएन, अब राजनीतिका केही अंश विस्तारमा लेख्दैछु। नेपाली राजनीतिक दलका एमाले, कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिकले यो संविधानलाई संसारको उत्कृष्ट संविधान भनेर बेला बेलामा ब्याख्या गर्छन्, भाषण ठोक्छन्। यो लेखिकाले संसारको सबैभन्दा झुर संविधान नेपालको भनेर भन्छे। यदि तपाईँलाई उत्कृष्ट भन्ने अधिकार छ भने मलाई झुर भन्ने पनि त्यतिकै आधिकार छ। आउनुहोस् यो थारुको चेली चुनौति दिन्छे, बहस गरौं।। धेरै धेरै कुरा लेखे, बोले, त्योसँगै धेरैको मतलब छैन, हुँदैन पनि, तर कुनै कुनै लेख यस्ता हुन्छन् जसको बहस गर्न राज्य पनि विवश हुन्छ। नेपाली संविधान हुकुमको दुक्का लुकाएर खेलिएको दहेल पकड खेलजस्तै हो।
पहिलो बुँदामा बहस गरौँ– संघीयता
देशमा संघीयताको घोषणासँगै बबाल भो। टीकापुरलगायत मधेसमा ज्यान गुमाउनेहरुको संख्या पाँच दर्जन पुग्यो। संसारकै लामो मानव साङ्लोलाई प्रधानमन्त्री ओलीको टुक्के भाषणले माखे साङ्लोको संज्ञा दियो। शान्तिपूर्णरुपमा गरिएको विशाल मानव साङ्लोलाई संसारले नियालेर बसेको थियो।
५२ प्रतिशत जनता विरोधमा भएको संविधान संसारमा कसरी उत्कृष्ट? फेसबुकमा विचार लेख्ने आङकाजी शेर्पा थुनिन्छन्, कारबाहीको भागिदार बन्छन्,, करोडौं जनताको उपहास गर्ने ओलीचाहिँ पुरस्कृत?? यो कस्तो न्याय हो??? जुलुसमा सहभागी भएकै बहानामा थारु मधेसीले झुटा मुद्दा खेप्दै जेल जान्छन्, लोकतन्त्रमा संघीयताको धज्जी उडाउने चित्रबहादुरचाहिँ उपप्रधानमन्त्री? त्यसै खस आर्यको धज्जी उडाएको होइन, खस आर्यको पगडीमा गलत अभिनय गर्ने कलाकारका कारण आज हाम्रो यो हविगत भएको हो।
दोस्रो बुँदामा बहस गरौं– धर्म
यो लेखिका गर्वले भन्छे म हिन्दू हुँ। हिन्दू मेरो संस्कार हो, मेरो घरको देउता कोठामा महादेव पार्वतीको अंश छ र हामी सबैले पूजा गर्छौं। हामी गर्वले हिन्दू हौं भन्छौं तपाईँ हामीलाई जबरजस्ती गैरहिन्दू बनाउनु हुन्छ। संस्कारअनुरुप हामीले तपाईँलाई मन्दिरको पूजारी त बनाएकै छौं नि। तर मन्दिरको मूर्ति ढोग्नबाट वञ्चित हामीलाई कसले बनायो? सार्की दाइको छालाको जुत्ता पूजारीलाई चल्ने, लोहार दाइले बनाएको घन्ट मन्दिरमा बज्ने,, अनि त्यही लोहार सार्कीलाई मन्दिर छुन नदिने???
यो लेखिका थारु भए पनि छाती ठोक्दै चुनौति दिन्छे– जुन दिन धर्मको जनमतसंग्रह हुन्छ, सोही दिन स्वस्तिकको छाप हिन्दू धर्मलाई लगाइन्छ।
राजनीतिक दलका नेताहरुले धर्म निरपेक्षको देश भनेर किन घोषणा गरे? दुनियाँलाई थाहा छैन, एनजीओ, आइएनजिओको ठेकेदारहरुको बिल्ला खस, आर्यसँगै मात्र छ। घरमै बसेर लाखौं डलर कुम्ल्याउने, घिच्न सकेजति घिच्ने, बचेको डलर बस्तीको विकासमा खर्च नगरी उतै फर्काउने अनि पश्चिमाको आशिर्वादमा उनैको विरुद्ध तिम्रा कदम कसरी चल्न सक्छ? छोरो–बुहारी डलरप्रेमी, मुखमा धर्म निरपेक्ष, पेटमा हिन्दूको बखान, यही तिम्रो परिचय होइन? गर्वले भन्नुस् म हिन्दू हुँ।
हिन्दू राष्ट्र नेपाल हाम्रो पहिचान हो। आउनुस् ९१ प्रतिशत जनताको भावनाको कदर गरौं। अढाइ करोड जनताको जनमतमाथि पैतलाले कुल्चिने तिमी ६०१ जनालाई अधिकार छ? यदी तिमीलाई अधिकार छ भने चित्त नबुझेको संविधान च्यात्न पाउनुपर्ने अधिकार हामीलाई पनि छ।
तेस्रो बुँदामा बहस गरौं– सीमांकन
सबै इतिहासकारले भन्छन्– नेपाी भाषाको उदगम स्थल जुम्लाको सिंजा हो। सिंजा प्रदेशको भाषा, रहनसहन, भेषभुषा, नेपालको पहाडी क्षेत्रमा पाइन्छ। सिंजाली क्षेत्रको पोसाक दौरा, सुरुवाल, चौबन्दी, धोती, ढाकाटोपी सबैलाई थाहा छ। म थारुकी छोरी भए पनि देशले तोकेको दौरा, सुरुवाल, ढाकाटोपी, चौबन्दी, फरियामाथि गर्व गर्छु र गर्वले राष्ट्रिय पोसाक मान्छु।
तर ‘काले काले मिलेर खाउँ भाले’ को जमातले नेपाली पोसाक नलगाएर मन्त्री, प्रधानमन्त्रीको शपथ खाने प्रचण्ड, बाबुरामलाई कारबाही गर्नुपर्दैन?? जसले नेपाली पोसाकको धज्जी उडाउँछ, ऊ कसरी नेपालको राष्ट्रिय मन्त्री हुनसक्छ? राजनीतिक नेताले गरेको सामर्थ्य र पशिचानको आधारमा यो थरुनी चेली सहमत छ तर पहिचानको परिचयसँगै छुटाएको भूगोल हेर्नुस् त सुरुवालसँगै धोती, दौरासँग कुर्ताको मेल कहाँ खान्छ?
म थरुनी चेली, पहाडी चेलीसँग मितिनीको साइनो गाँस्न सक्छु तर एउटा कुरामा दृढ छु– परिचय फरक फरक हुनुपर्छ। तराईमा बसोबास गर्ने थारुलाई तपाईँ नेपाली देख्नुहुन्छ, नेपाली भन्नुहुन्छ, भलै मधेसमाथि शंका होला अनि थारुको पहिचानको तुलना पहाडसँग गर्नुहुन्छ? जे गरेपनि जसो गरेपनि मै ठीक भन्ने अंह छोड्नुस्– हामी थारु मधेसी पहाडी सबैसँग मिलेर बसेका छौं। आधुनिकतामा विकासको फड्को मार्ने हो भने न्यायोचित भैगोलिक वर्गीकरण गर्नुहोस्, होइन भने १४ अञ्चल ७५ जिल्ला पाँच विकास क्षेत्रको संरचना दिने राजा महेन्द्रको पूजा गर्नुस्, नागर्जुनबाट ज्ञानेन्द्रलाई नारायाणहिटी ल्याउनुस्– कसले जान्या छैन र तपाईँको कपटी खेल? आनीबानी अनि यसैसँग लतारिरहेको नेपाल अनि घिसि्ररहेका हामी नेपाली।
मलाई खस आर्यका सबै संस्कार, धर्म मन पर्छन् तर मै हिन्दू, मै मात्रै मन्दिरको पूजारी, मै क्षेत्री, सेना पुलिस मैरैमात्र पेवा, मेरै शासन, मेरैमात्रै प्रशासन पटक्कै मन पर्दैन। आउनुहोस् सबैजना बाँडौं, मिलेर बाँडौं, आ–आफैं बाँडौं स्वार्थका लागि विदेशी गुहार्ने अनि नक्कली राष्ट्रवादी नेता बन्नेदेखि होसियार रहौं। मैले खस आर्यलाई मात्र भनेको छैन– थारु भएर थारुहटको परिभाषा नजान्ने, बीसौं वर्ष सांसद भएर बस्तीको पीडा नबुझ्ने मेरै वर्गका गच्छदार रामजनमप्रति खेद प्रकट गर्छु। या त गोर्खाली र गोरखाको गुनगाथा नगाउनुस्, गाउनुहुन्छ भने रामराजको न्याय दिन पनि नबिर्सनुस्।
जय थरुहट। राम राम।।
टिकापुरबाट
थारुवानको सहयोगमा




Diksha Dalit, I salute you for raising voices strongly against pseudo-nationalist leaders. In fact, they are not leaders but selfish creatures and anti-nationalists. The issues raised – federalism, religion and demarcation are the burning issues. What we need is unity among Tharu community. A combined force and a visionary leader to lead the whole Tharu-Madheshi for economic prosperity, social transformation and political freedom. I wish you write regularly.