singha-durbar

हुलाकी न्यूज, काठमाडौं १८ बैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठक मधेशकेन्द्रित दलले बहिष्कार गरेका छन् ।

यथास्थितिमा बैठकमा सहभागी हुनुको कुनै औचित्य नै नभएकाले हामी उपस्थित नभएको मधेशकेन्द्रित दलका नेताहरूले बताएका हुन् ।

यसअघि, शुक्रवार प्रधानमन्त्री ओलीले विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महन्त ठाकुरबाहेक अन्य मधेशकेन्द्रित दलका नेता तथा प्रतिनिधि सर्वदलीय बैठकमा सहभागी हुने जनाएका थिए ।

यसैबीच, मधेशकेन्द्रित दलको सहभागिताबिना बसेको सर्वदलीय बैठकमा समसामयिक विषयमा सामान्य छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा मधेश समस्या, भूकम्पपछिको पुनर्निर्माण र बजेट अधिवेशनबारे सामान्य छलफल भएको हो । बैठकमा प्रधानमन्त्री ओलीले तीन वटा प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री ओलीले मधेशमा देखिएको समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा लिई वार्ता, जेठको पहिलो सातामा पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन र संसद् अधिवेशनमा नीति तथा कार्यक्रम तथा बजेटपूर्वको छलफल सुरु गरिनुपर्ने प्रस्ताव गरेका थिए ।

प्रतिउत्तरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश समस्या सरकारकै कारण समाधान हुन नसकेको आरोप लगाएका थिए । उनले सरकारी वार्ता टोलीप्रति आन्दोलनरत पक्षको विश्वास नदेखिएकाले पुरानै वार्ता टोलीलाई कायम राख्ने वा नयाँ बनाउनेबारे पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा मधेशकेन्द्रित दलबाहेक संसद्मा प्रतिनिधित्व गर्ने अधिकांश दलको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.