
हुलाकी न्यूज, जनकपुरधाम १७ बैशाख । धनुषा क्षेत्र नम्बर चारका निर्वाचित संसद संजय साहमाथि लागेका आरोपहरुमा न्यायिक छानविन हुनु पर्ने माग गर्दै शुक्रबार जनकपुरधाम बन्द गरिएको छ ।
जनकपुर उद्योग बाणिज्य संघको नेतृत्वमा गरिएको बन्दमा संघीय गठबन्धनले विहीबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सरकारी दमनको विरोध गरेका थिए ।
त्यस्तै जनकपुरधामका युवा क्लव तथा युवा संगठनहरुले बन्दमा समर्थन जनाएका छन् । युवा संगठनसहितले बन्दको अवधिमा विहान मोटरसाईकल रैली प्रर्दशन गरेका छन् ।
विहीबार साँझ मसाल जुलुस गर्न नदिएका युवाहरुले शुक्रबार विहानैदेखि मोटरसाईकल रैली गरेका छन् ।
नेता साहमाथि न्यायिक छानविन हुनु पर्ने माग गर्दै आमरण अनसनमा बसेका जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष हिरा साहले शुक्रबारको बन्द पूर्ण रुपमा सफल रहेको बताए ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष साहले जनकपुरधामका व्यापारीहरुले नेता साहको समर्थनमा स्वस्फूर्त रुपले विहानैदेखि बजार, कलकारखाना बन्द गरेको बताए ।
अध्यक्ष साहले संजय साह जननिर्वाचित संसद भएकोले उनीमाथि लगाइएको आरोपमा न्यायिक छानविन हुनु पर्ने बताउँदै राजनीतिक दबाब कारण उनलाई फसाउन नमिल्ने दाबी गरे ।
आमरण अनसनमा बसेका अध्यक्ष साहले न्यायिक छानविन समिति गठन नभएसम्म आमरण अनसन जारी राख्ने बताएका छन् ।
यता संजय साह विगत २८ दिनदेखि आमरण अनसामा बसेका छन् भने उनको समर्थनमा उनकी श्रीमति रंगिला साह १८ दिनदेखि आमरण अनसनमा बसेकी छन् । दुबै जनाको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ ।
File_Photo-Janakpurdham



