
हुलाकी न्यूज, जनकपुरधाम १६ बैशाख । संजय साहको समर्थनमा तथा प्रहरी हस्तक्षेपको विरुद्धमा शुक्रबार जनकपुरधाम बन्द हुने भएको छ ।
जनकपुर उद्योग बाणिज्य संघसहित विभिन्न राजनीतिक दल तथा युवा संगठनहरुले संयुक्त रुपमा जनकपुरधाम बन्दको आह्वान गरेका छन् ।
बाणिज्य संघका अध्यक्ष शिवशंकर साह ‘हिरा’ले हुलाकी न्यूजसँग कुराकानी गर्दै जनकपुर बन्दको आह्वान गरिएको जानकारी गराए ।
अध्यक्ष साहले शन्तिपूर्ण आमरण अनसन गरिरहेकी नेता संजय साहकी श्रीमति रंगिला साहलाई प्रहरीले अपहरण शैलीमा दुव्र्यवहार गरेको र हातपात गरेको आरोप लगाए ।
अध्यक्ष साहले सरकार शाहीकाल जस्तो जनकपुरधाममा प्रस्तुत भइरहेको र शान्तिपुर्ण गर्न पाउने आन्दोलन पनि गर्न नदिएको विरोधमा बन्द आह्वान गरिएको बताए ।
उनले नेता साह तथा धनुषा क्षेत्र नम्बर चारका निर्वाचित सांसद संजय साहमाथि न्यायिक छानविनका लागि आयोग बनाउनु पर्ने मागलाई सरकारले बेवास्ता गर्न नमिल्ने बताए ।
मसाल जुलुसमा प्रहरी हस्तक्षेप
जनकपुरधाम बन्दको पुर्व सन्ध्यामा विहीबार साँझ गरिएको मसाल जुलुसमा प्रहरीले लाठी चार्ज गरेको छ ।
मधेशी क्रान्ति युवा संघर्ष समितिका संयोजक नविन यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै शान्तिपूर्ण तरिकाले मसाल जुलुस पनि गर्न नदिएको र प्रहरी लाठी चार्ज गरेको बताए ।
संयोजक यादवले प्रहरीले हस्तक्षेप गर्दै आएकोले जनकपुरवासी पुनः आन्दोलित हुनु परेको बताए ।
फाईल तस्बिर



