अमरेन्द्र कुमार यादव, धनुषा १६ बैशाख । मधेशको पहिचानका लागि ठूलो संघर्ष भइरहँदा आधुनिकिकरणले धेरै कुराहरुलाई विस्थापित गर्दैछ । त्यो खानपानमा होस् वा भेष–भुषामा । मधेशका ती बस्तुहरुलाई समयानुसार परिर्माजन गरिएन भने त्यो लोप भएर जानेछ ।
अहिले मधेशमा विवाहको समय छ । गरगहनाको महत्व विवाहमा झनै हुन्छ । तर मधेशीहरुले लगाउँदै आएका आभुषण विस्थापित हुँदै गएकोप्रति सचेत वर्ग पनि चिन्तित देखिन्छन् ।
पुराना गहनाहरुको ठाउँ आधुनिक गहनाहरुले लिन थाले पछि पुराना गहनाहरुको महत्व दिनप्रति दिन घट्दै गएको छ ।
विशिष्ट मौलिक पहिचान बोकेका मधेश–मिथिला परम्परागत हसुली गहना आधुनिकताको प्रवेशसँगै लोप हुने संघारमा पुगेको छ ।
बजारमा सहजै किन्न पाइने आधुनिक गहनाले हसुली गहनाको स्थान लिन थालेपछि मिथिलानीहरुले लगाउने हसुली गहना विस्थापनको संघारमा पुगेको हो ।
मांगलिक र सांस्कृतिक कार्यहरुमा पौराणिक कालदेखि लगाइँदै आएका गहनाहरुप्रतिको अभिरुचिमा कमी आउन थालेपछि मिथिलानी महिलाहरुले परम्परागत गहनाहरुलाई बिर्संदै जान थालेको धुनषा महेन्द्रनगरकी आशा देबी साह बताउँ छिन् ।
विवाह, सांस्कृतिक समारोह र अन्य मांगलिक कार्यहरुमा परम्परागत गहनाहरु मिथिलानी महिलाहरुले लगाउने चलन पौराणिक कालदेखि चल्दै आएको भए पनि बसाइसराइँ, पाश्चात्य संस्कृतिको नक्कल र देखासिखिका कारण यस्ता गहना लगाउने युवती पिँढी विरलै देखिने गरेका छन् ।
परम्परागत सो चाँदीका गहना मिथिलानीहरु गलामा लगाउने गर्छन् । एक दशक यतादेखि मिथिलानीहरुले लगाउने हसुली गहनाकोे प्रचलनमा कमी आएको बुढापाकाहरुले बताउँछन् ।
‘पौराणिक गहना लगाउन अहिलेको पुस्ताले हिचकिचाहट मान्ने, लाज मान्ने प्रवृत्ति, संस्कृति बचाउने चेतनामा कमी, बाह्य संस्कृतिको प्रवेश र सञ्चारका नयाँ प्रविधिमा विदेशी गहनाका आकर्षक विज्ञापन र व्यापक प्रचारप्रसारका कारण हसुली गहनाको मौलिकता हराउँदै जान थालेको’ पत्रकार जयन्त ठाकुर बताउँछन् ।
परम्परागत गहना बचाउन मिथिला समुदायका महिलाहरुमा जागरण ल्याएर संस्कृतिप्रतिको मोह बढाउनुपर्ने उनको धारणा रहेको छ ।
मैथिली संस्कृति, धार्मिक मान्यता, आफ्नै मौलिकता र विशिष्ट पहिचान बोकेका सो गहना लगाउने प्रचलन ग्रामिण क्षेत्रमा कहीँकतै विवाह र धार्मिक अनुष्ठानहरुमा महिलाहरुले फाट्टफुट्ट रुपमा लगाएको देखिने गरेको भए पनि बसाइसराइँ गरेर जिल्लाहरुको सहरी क्षेत्रमा बसोबास गर्ने मिथिला समुदायका व्यक्तिहरुले यस्ता गहनाहरु भने पटक्कै लगाउन छाडेका छन् ।
अन्य समुदायसँगको हेलमेल, बाह्य संस्कृतिको प्रवेश र सञ्चारका नयाँ प्रविधिमा विदेशी गहनाका आकर्षक विज्ञापनले गर्दा परम्परादेखि लगाउँदै आएका गहना लगाउने प्रवृत्तिमा कमी आई अन्य समुदायको संस्कृतिले प्रवेश पाएको छ ।



