
हुलाकी न्यून, सप्तरी १५ बैशाख । मधेशी मोर्चासहितको संघीय गठबन्धनले आज प्रमुख जिल्ला अधिकारीहरूमार्फत् प्रधानमन्त्री केपीशर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
आजबाट आन्दोलन सुरु गरेको २७ दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरूले सबै जिल्लामा ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउने क्रममा सप्तरीमा भने केहीबेर तनाव भएको थियो ।
कार्यालयको मुलगेटमै ज्ञापनपत्र बुझाउन प्रहरीले गरेको आग्रह नमान्दै आन्दोलनकारीले प्रमुख जिल्ला अधिकारीलाई भेटेरै बुझाउने अडान लिएपछि स्थिति केहीबेर तनावग्रस्त बनेको थियो ।
ठूलो संख्यामा तैनाथ सुरक्षाकर्मीले गेटमै रोकेपछि घम्साघम्सी भएको थियो । कार्यालय प्रवेशमा रोक लगाएपछि स्थानीय प्रशासनविरुद्ध नाराबाजी गर्दै आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रमुख जिल्ला अधिकारी बलदेव गौतममार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा राष्ट्रियस्तरका २६ र स्थानीयस्तरका १० गरी कुल ३६ वटा माग छन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ गौतमले ज्ञापनपत्र तत्कालै सम्बन्धित निकायमा पठाउने बताएका थिए ।



