
हुलाकी न्यून, काठमाडौं १५ बैशाख । सातौं कोरियन भाषा परीक्षाका लागि बुधवारबाट आवेदन खुलेको छ । आवेदन फारम उपत्यका र उपत्यका बाहिर गरी १० स्थानबाट भर्न सकिनेछ । आउँदो असार ४ र ५ गते हुने कोरियन भाषा परीक्षाका लागि खुला गरिएको आवेदन तोकिएका स्थानमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म भर्न सकिने ईपीएस कोरिया शाखाले जनाएको छ ।
फारम बैशाख १८ गतेसम्म भर्न सकिनेछ ।
काठमाडौं उपत्यकामा च्यासल फुटबल खेल मैदान, काठमाडौं भ्याली उच्च मावि महाराजगञ्ज, ल्याबरोटरी उच्च मावि कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो र नेपाल वेद विद्याश्रम संस्कृत मावि गौशालामा आवेदन फारम भर्न सकिनेछ ।
त्यस्तै, काठमाडौं बाहिर जनकपुर (उप–महानगरपालिकास्थित श्रम कार्यालय), धरान, बुटवल, पोखरा र डडेल्धुरामा पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यसपटक आवेदन फारम भर्न मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य गरिएको छ । यस वर्ष फारम भर्दा आवेदकले उत्पादनमूलक समूहभित्रका एसेम्बल, मेजर्स, ज्वाइनमध्ये एक समूह रोज्नुपर्नेछ ।
त्यस्तै, कृषिमा पनि कृषि र पशुपालनमध्ये एक कामलाई पहिले नै रोज्नुपर्नेछ । कोरियन भाषा परीक्षामा सहभागी हुनका लागि प्रतिव्यक्ति २४ अमेरिकी डलर लाग्नेछ । फारम रद्द भए रकम फिर्ता हुने पनि शाखाले जनाएको छ ।
भाषा परीक्षाको नतिजा आगामी ११ साउनमा प्रकाशित गरिनेछ । यस पटक ३ हजार १ सय नेपाली कामदारलाई छनौट गर्ने दक्षिण कोरियाले जनाएको छ ।
हालसम्म करिब ३५ हजार नेपाली ईपीएसमार्फत भाषा परीक्षा उत्तीर्ण गरेर दक्षिण कोरिया पुगिसकेका छन् । सन् २००७ मा नेपाल र कोरिया सरकारबीच पहिलोपटक ईपीएस प्रणालीअन्तर्गत कामदार लिने सम्झौता भएको थियो । विस्तृत जानकारीका लागि : www.epsnepal.gov.np



