
बैशाख १४ नयाँ दिल्ली । कलाकार उमाशंकर शाह यो साता तैलचित्र, इचिङ र प्रतिस्थापनका माझिएका कलाकृति लिएर लोधीरोढस्थित हयाबिटाट सेन्टरमा उपस्थित भएका छन्, जहाँ कलामार्फत नेपाल–भारत जनस्तर सम्बन्धको मिहिन डोरीलाई उनले बाट्न खोजेका छन् ।
द्विदेशीय सम्बन्धको कुरा गर्दा सामाजिक, राजनीतिक र आर्थिक विम्बमा समेत जोडिएको ‘रोटी और बेटी’ को साइनोलाई कलाकार शाहले यसपटक आफ्ना ३३ सिर्जनामा उतारेका छन् ।
विशेषत: जयनगर–जनकपुर रेल्वेका कारण कसरी दुई देशका नागरिकले आपसी सद्भाव र समन्वय बढाएका थिए भन्ने विम्बलाई उनले क्यानभासमा उतारेका छन् । त्यसमाथि १८ फिट लामो रेल्वेको इन्स्टलेसन (प्रतिस्थापन) ले दुई देशको सांस्कृतिक, धार्मिक र परम्पराजडित साइनोलाई पनि यसले झल्काएको छ ।
यो रेल्वे इन्स्टलेसनको मूल्य मात्रै २० लाख भारु तोकिएको छ । संयोग के छ भने, प्रदर्शनी चलिरहेकै बेला आइतबार मात्रै यो रेल्वे इन्स्टलेसनलाई बिहार राज्य सरकारले किन्ने सूचना पठाएको छ, अब यो कलाकृति बिहारको रेल्वे संग्रहालयमा नेपालको चिनो बनेर बस्नेछ ।
‘मैले इतिहास उधिन्न चाहेको हुँ,’ कलाकार उमाशंकर भन्दै थिए, ‘अंग्रेजको पालादेखि हाम्रो मधेसलाई जोड्ने भारतीय रेल्वेका लिक र डब्बा आज कबाडी सामान बनेर थन्किएका छन् । त्यो इतिहासलाई बिक्री गर्न भनेर अहिले खजुरी चिन्हा स्टेसन (जनकपुरनजिकै) मोल बढाबढ भइरहेको रहेछ । त्यो हाम्रो सम्बन्ध र रोटीबेटीको इतिहास हो, त्यसलाई संग्रहालयमा राखिनुपर्छ भनेर म कलामार्फत त्यो सम्पदाको महत्त्व सम्झाउन खोजिरहेको छु ।’
नेपालमै ‘इचिङ प्रिन्ट कला’ गर्ने थोरै अग्रजमध्येका उमाशंकरले ‘इचिङ’ मार्फत पनि प्रदर्शनीमा राखिएका सिर्जना निखारेका छन् । ‘यो ग्यालरीसम्म आउने दर्शकले धेरैपछि सिर्जनात्मक कलामा नयाँ स्वाद र प्रस्तुति देख्न पाइयो भनेर प्रतिक्रिया दिइरहेका छन्,’ हयाबिटाटको भिजुअल आर्ट ग्यालरीमा भेटिएका शाहले भने, ‘मधेससँग भारतको रोटीबेटीको साइनोमाथि काम गरिरहेकै बेला गत वर्ष नेपालमा भुइँचालो गयो । त्यसपछि काठमाडौं उपत्यकामा तहसनहस भएको सांस्कृतिक सम्पदालाई पनि यही कलेक्सनमा जोडेर राखेको छु ।’
आफैंमा महँगो र प्रतिष्ठित कला प्रवर्द्धन केन्द्र मानिने हयाबिटाट सेन्टरमा राखिएका शाहका सबै कलाको मूल्य जोड्ने हो भने ४/५ करोड रुपैयाँ पुग्न सक्छ ।
एउटा नेपाली कलाकारले यत्रो हैसियतमा प्रदर्शनी वा बजार आफैंले खोज्न सक्ने स्थिति बन्न अझै मुस्किल छ । शाहलाई पनि दिल्लीको प्रतिष्ठित गणेशा ग्यालरीले सिर्जनाको प्रदर्शनी तथा प्रवर्द्धनमा सहयोग गर्दै आएको छ ।
भिजुअल आर्टस् ग्यालरीमा एक साता लामो प्रदर्शनी यो सोमबार टुंगिएपछि गणेशा ग्यालरीको ग्रेटर कैलाश–२ स्थित प्रदर्शनी कक्षमा यी कलाहरू मे महिनाभर प्रदर्शनीमा रहनेछन् । तर, अर्को प्रदर्शनी कक्षमा नपुग्दै उमाशंकरका महँगा र अर्थपूर्ण सबैजसो सिर्जना बिक्री भइसकेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा कला संकायमा प्राध्यापक रहेका शाह दिल्लीमा कला प्रदर्शनी र प्रवर्द्धन गर्न हरेक बर्ष यता आइरहन्छन् । उनी कलाको बजारीकरणको मौका खोज्न दिल्ली धाउने गरेको र यसमा आफू निकै सफल रहेको बताउँछन् ।
यसपटकको कला सृजनामा भने मिथिला क्षेत्रका सामाजिक समस्या, नेपाल–भारत विहाबारीमा छोरीले बेहोरेका समस्या एवं राजनीतिक गतिरोधले उब्जिएको समस्याबारेमा उनले रंग भरेका छन् ।
‘अहिले विविध कारणले सेवा अवरुद्ध रहेको जयनगर–जनकपुर रेल्वे सेवामा आजको अवस्था भैदिएको भए ग्यास सिलिन्डर पनि भरिएर पारिबाट वारि आउँथ्यो होला भन्ने कल्पना सृजनामा गरेको छु,’ शाह भन्छन्, ‘जस्तो हाम्रो पालामा दशगजा पारिबाट साइकल, फिलिप्स रेडियो वा अरू लत्ताकपडा ल्याइने गरिन्थ्यो ।’
गोरखनाथ, कृष्ण, सीता, रामजस्ता धार्मिक र आध्यात्मिक नाम जोडेर बनाइएका ट्रेनले दुवै देशलाई धर्म, संस्कृति र सभ्यतामा पनि जोडेका थिए भन्ने सम्झँदा मात्रै पनि उमाशंकर बढी सृजनशील बन्न थाल्छन् ।
अनि भन्छन्, ‘मलाई यही नयाँ थिमको सृजनाले यो ग्यालरीसम्म ल्याएको हो । रोटीबेटीको कुरामा अरू राजनीतिज्ञहरू मञ्चमा उभिएर बोलिरहेका होलान्, म सृजनामार्फत् मनको बह पोखिरहेको छु ।’
महोत्तरीको लोहरपट्टी गाउँमा जन्मे–हुर्केका उमाशंकरले सन् १९८८ मा बनारस हिन्दु विश्वविद्यालयबाट बीएफए र सन् १९९१ मा प्रिन्ट–मेकिङ (पेन्टिङ) मा एमएफए गरेका छन् ।
उनकी श्रीमती सीमा शाह आफैंमा प्रिन्ट–मेकिङ (पेन्टिङ) जानकार कलाकर्मी र त्रिभुवन विश्वविद्यालयअन्तर्गत कला विभाग संकायमा प्रमुख रहेकी छन् । कला–सृजनामा अघिल्ला वर्षमा धार्मिक र मिथकीय विम्बमा खेल्न मन पराउने उमाशंकर पछिल्ला वर्षमा भने मिथिला कलातिर तानिएका हुन् ।
उनको कला सृजना हेर्न राजदूत दीपकुमार उपाध्यायदेखि वरिष्ठ कलाकार जतिन दाससम्म भिजुअल आर्ट ग्यालरी पुगे ।
कान्तिपुरबाट साभार




Good talking my omshankar brother ok
The great work with paintings.