
हुलाकी न्यूज, रूपन्देही १३ बैशाख । सप्तरीको दिघवामा सोमवार भएको आगलागीबाट १५ घर जलेर नष्ट भएका छन् । दिघवा–४ स्थित सरयुग भगतको घरबाट सल्केको आगोले रामनारायण सुतिहार, सीताराम सुतिहार, अनितादेवी सुतिहार, राम चलित्तर शर्मा, जगदीश यादव, रामअशिष शर्मा, आशादेवी यादवलगायत ८ परिवारको १५ घर खरानी बनाएको हो ।
आगलागीबाट करिब ५० लाखको क्षति भएको छ । आगलागीमा परी चार चौपायासमेत मरेका छन् । वारुणयन्त्र ढिलो आउँदा बढी क्षति भएको स्थानीयबासीको गुनासो छ ।
स्थानीयवासी, दमकल, प्रहरी र सेनाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
दिउँसो ३ बजे लागेको आगो साँझ मात्र नियन्त्रणमा आएको थियो । गर्मी र हावाहुरीसँगै आगलागीको घटना बढेको छ ।
एक महिनायता सप्तरीका राजविराज, हरिहरपुर, देउरी भरुवा, बरही विरपुर, पकरी, डिमन, लोहजारा, झल्ही फर्सैठ, लौनियाँ, तिलाठी, सकरपुरा, मलहनियाँ, महदेवालगायत दुई दर्जन स्थानमा भएका आगलागीका घटनामा १ सय ७ घर जलेर नष्ट भएका छन् भने करोडौंको क्षति भएको छ ।



