
हुलाकी न्यूज, रूपन्देही १३ बैशाख । गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान विरोधी कुनै पनि गतिविधि भए तत्काल रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । रूपन्देहीको बुटवलमा आज सुरु भएको क्षेत्रीय विशेष सुरक्षा गोष्ठीमा मन्त्री बस्नेतले मधेशी मोर्चाले गर्ने भनेको आन्दोलनका क्रममा संविधान विरोधी गतिविधि भए परिस्थिति हेरेर नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।
उनले सरकारको मुख्य कार्यभार नयाँ संविधान कार्यान्वयन गर्नु रहेको भन्दै संविधान विरोधी कुनै पनि काम गर्नेलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिएका छन् ।
संविधान सहमति र सम्झौताको दस्तावेज भएको भन्दै गृहमन्त्री बस्नेतले कसैको चित्त नबुझे अन्य माध्यमबाट सम्बोधन गर्न सकिने पनि बताए ।
सुरक्षा गोष्ठीमा लुम्बिनी अञ्चलका ६ जिल्लासँगै चितवनका सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता छ ।



