Nepal_police_Practic
हुलाकी न्यूज, काठमाडौं १३ बैशाख । मधेश आन्दोलनमा चार दर्जनभन्दा अधिक सर्वसाधारणको गोली हानी हत्या गरेका नेपाल प्रहरी र शसस्त्र प्रहरीको आलोचना भएपछि उनीहरुलाई घुँडामुनि गोली हान्ने तालिम दिइदैछ ।

टाउको, छातीमा गोली लागेर आन्दोलनमा मारिनेको संख्या बढेपछि दुवै संगठनले भीड नियन्त्रणमा खटिने जनशक्तिको तालिम मोडल परिवर्तन गरेको जनाएका छन् ।

स्थानीय प्रशासन ऐनअनुसार भीड नियन्त्रण गर्न गोली चलाउँदा घुँडामुन्तिर लाग्ने गरी हान्नुपर्ने व्यवस्था छ । तर, तालिममा टाउको, छातीलगायत संवेदनशील अंगमा गोली हान्न सिकाइने भएकाले कार्यक्षेत्रमा कानुनअनुसार जान नसकिएको निष्कर्ष उनीहरूले निकालेको सोमबारको नागरिक दैनिकमा जनाइएको छ ।

नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेशमा चर्केको आन्दोलन क्रममा भीड नियन्त्रण गर्दा दुवै सुरक्षा संगठनले अपनाएको शैली अन्तर्राष्ट्रिय–राष्ट्रिय मानवअधिकार संगठनबाट समेत आलोचित थियो ।

‘भीड नियन्त्रणमा गोली चल्दा मानवीय क्षति भएको गुनासो बढेपछि फायरिङ तालिमको मोडल परिवर्तनमा लागेका छौं’ नेपाल प्रहरीका प्रवक्ता माधव जोशीले भने,‘विशिष्ट व्यक्तिको सुरक्षा लगायत विशिष्ट प्रकृतिको काममा खटिने जनशक्तिबाहेकलाई छुट्टाछुट्टै प्रकृतिको फायरिङ तालिम हुनेछ ।’

डिआइजी जोशीका अनुसार प्रहरीको विशेष कार्यदल, सुरक्षा महाशाखा लगायत विशिष्ट प्रकृतिको सुरक्षामा परिचालित हुने जनशक्तिका लागि अहिलेकै फायरिङ मोडलमा तालिम हुनेछ। भीड नियन्त्रणमा परिचालन हुने दंगा गण लगायतलाई भने ऐनले तोकेअनुसार घुँडामुनि गोली हान्न दक्ष बनाउने गरी तालिम लागू हुनेछ ।

नागरिकका अनुसार सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी शैलेन्द्र खनालले संगठन सदस्यलाई ुलाइन पोजिसनुमा बसेर गोली हान्ने तालिम दिने बताए । उक्त तालिमले जहाँ ताक्यो त्यहीँ गोली हान्न सक्ने सीप विकास हुने खनालको दाबी छ ।

ऐनमा के छ

भीड नियन्त्रणका लागि सुरुमा सबैले सुन्ने गरी माइकबाट चेतावनी दिने, त्यति गर्दा पनि भीड नहटे, पानीको फोहोरा प्रयोग गर्ने, फोहोराले नभए लाठी चार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने। यत्तिले पनि भीड पछाडि नहटे गोली चलाउन सकिने चेतावनी दिने । त्यसपछि चेतावनीस्वरूप हवाई फायर गर्ने । त्यसलाई पनि अटेरी गरे घुँडामुनि लाग्ने गरी गोली हान्ने ।

तस्बिर : नागरिक दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.