
हुलाकी न्यून, धनुषा १२ बैशाख । यस वर्ष पनि मधेशका जिल्लामा पाठ्यपुस्तकको अभाव देखिएको छ । शैक्षिक सत्र सुरु भएको सातादिन बितिसक्दासमेत मध्य तथा पूर्वी मधेशका जिल्लामा सबै तह र विषयका पाठ्यपुस्तक पुग्न सकेका छैनन् ।
पाठ्यपुस्तक उपलब्ध गराउने जनक शिक्षा सामग्री केन्द्रले पर्याप्त पुस्तक पु¥याउन सकिरहेको छैन । निम्न माध्यमिक र माध्यमिक तहका पाठ्यपुस्तक अझै आउन नसकेको वितरकहरू बताउँछन् ।
बजारमा हाल कक्षा ६ र ७ का पाठ्यपुस्तक न्यून संख्यामा मात्र रहेका छन् । प्राथमिक तहका पुस्तकको भने अभाव भएको छैन । प्राथमिक तहका पुस्तक निजी क्षेत्रले बिक्री गर्ने गरेकाले पनि अभाव नदेखिएको हो । शिक्षा कार्यालयले पाठ्यपुस्तकका लागि विद्यालयको नाममा हालसम्म रकम निकासा गरेको छैन ।
रकम निकासा नहुँदा गोदाममा राखिएका पुस्तकसमेत वितरण हुन नसकेको जनक शिक्षा सामग्री जनकपुर शाखाले जनाएको छ । धनुषा जिल्ला शिक्षा कार्यालयले केही समस्या देखिए पनि केही दिनमै पाठ्यपुस्तक सहज हुने दाबी गरेको छ ।



