Rajendra_mahato_janakpur
हुलाकी न्यूज, जनकपुरधाम ११ बैशाख । मधेशी जनतालाई राज्यबाटै सुरक्षा थ्रेट रहेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दाबी गरेका छन् ।

उनले आन्दोलन शान्तिपूर्ण रुपमा गरेपनि राज्यबाट जनतालाई सुरक्षा थ्रेट रहेको टिप्पणी गर्दै अहिलेसम्म पाँच दर्जन मधेशीको हत्या गरिएको बताए ।

अध्यक्ष महतोले शान्तिपूर्ण आन्दोलनको क्रममा पाँच दर्जनभन्दा बढी सर्वसधारणको हत्या गरेको राज्यले उल्टै मधेश आन्दोलनबाट सुरक्षा थ्रेट रहेको भन्नु हास्यास्पद रहेको टिप्पणीसमेत गरे ।

जनभावना बमोजिम आन्दोलनको स्वरुप परिवर्तन गरी सिंहदरबार घेराउ गर्न लागिएको जनाउँदै महतोले जेठ १ गते मधेशसहित देशैभरिका शोषित उत्पीडित सर्वसधारण, नेता कार्यकत्र्तालाई सिंहदरबार घेर्ने बताए ।

सरकारले मधेशका सञ्चारगृहले संविधान सम्बन्धमा भ्रम फैलाएको दाबी गरिरहँदा सद्भावना अध्यक्ष महतोले यूरोपियन यूनियन, अमेरिका लगायतका शक्तीशाली राष्ट्रहरुमा कसले भ्रम फैलायो भन्दै प्रतिप्रश्न गरे ।

उनले सत्ता स्वार्थमा लिप्त भएर ३ पार्टीबाट १३ पार्टीमा विभाजन भएको मधेशवादी दलहरु मधेशको माँग सम्बोधनको ठोस रोडम्याप नआएसम्म सरकारमा नजाने समेत स्पष्ट पारे ।

राज्य पुर्नसंरचना आयोगले सिफारिश गरेको प्रादेशिक संरचनालाई मधेशवादी दल र आदिवासी जनजाति दलहरुले स्वीकार गरेको हुनाले लिम्बुवानसहितका २७ वटा साना दलहरु सम्मिलित संघीय गठबन्धनको गठनले संयुक्त लोकतान्त्रिक मधेशीको माँग र एजेण्डालाई कुनै फरक नपार्ने सद्भावना अध्यक्ष महतोले प्रष्ट्याए ।

महतोले आफ्ना पार्टीका वरिष्ठ उपाध्यक्ष संजय साहमाथि न्यायिक छानविन हुनु पर्ने माग पुनः गरे । उनले साहको राजनीतिक भविष्य समाप्त गर्न गैरमधेशवादी पार्टीका नेताहरु लागि परेको आरोपसमेत लगाए ।

महतोले पार्टीका सम्पूर्ण कार्यकर्ताहरुलाई साहका लागि न्यायिक छानविनको मागमा सहयोग गर्न निर्देशनसमेत दिएका छन् ।

कार्यक्रममा नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष रमण सिंहसहित राप्रपा नेपालका नेता तथा कार्यकत्र्ताहरुलाई राजेन्द्र महतोले फूल र अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.