
हुलाकी न्यूज, बर्दिया ११ बैशाख । मधेशमा हरेक वर्ष हुने आगलागी र डढेलोबाट व्यापक जनधनको क्षति हुने गरेको छ । पछिल्लो पटक बर्दियाको बबई नगरपालिकास्थित सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
शुक्रवार बबई नगरपालिका वडा नम्बर ८ बगनाहा गोविन्दपुरको खोदाउ सामुदायिक वनमा डढेलो लागेको हो । डढेलोका कारण बगनाहाको गोविन्दपुर, तकिया, घुम्नालगायत आसपासका वस्ती जोखिममा परेका छन् ।
वनको आगो घरसम्म पुग्न सक्ने भन्दै स्थानीयवासी त्रासमा छन् ।
दमकल, स्थानीयवासी र प्रहरीले डढेलो नियन्त्रणको प्रयास जारी राखेका छन् । चर्को घाम र हावाका कारण आगो नियन्त्रणमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।



