
राजेन्द्र महतो , अध्यक्ष, सद्भावना पार्टी
० अबको आन्दोलन कस्तो हुन्छ ?
— संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धन अहिले छलफलमा छ । हामी अब काठमाडौंकेन्द्रित आन्दोलन गर्छौं । सिंहदरबारलाई नै ठप्प पार्नुपर्छ । किन भने मधेशमा हामी ६ महिनासम्म लड्यौं । तर, राज्यले गोली चलाएर मधेशीको हत्या गर्ने काम ग¥यो । त्यसैले जबसम्म सिंहदरबारलाई दबाब पर्दैन, तबसम्म आन्दोलन सफल हुँदैन । अवको आन्दोलनमा सरकारले गोली चलाए परिनाम खतरनाक हुन सक्छ । जसले राज्यलाई ठूलो क्षति व्यहोर्नु पर्नेछ ।
० नाकाबन्दीको स्वरूप पनि आउँछ ?
— नाकाबन्दीको आवश्यकता छैन । हुन त सभ्य सरकार छैन । जनताको पीडालाई आफ्नो पीडा नमान्ने अहिलेको सरकार छ । नाकाबन्दी गर्दा जनतालाई अत्यधिक कष्ट भयो । लामो समयसम्म आम हड्ताल हुँदा पीडा हुँदो रहेछ । त्यसैले हामी चाहीं जनतालाई कमभन्दा कम प्रभाव पर्ने र सरकारलाई अधिकतम् दबाब पर्ने कार्यक्रमहरू ल्याउँदै छौं । विगत ६ महिनाको अनुभवबाट हामीले पाठ सिक्नुपर्छ । ६ महिना मधेशमा आन्दोलन ग¥यौं । त्यसबाट जनता त अत्यधिक दुखी भए, तर सरकार दुखी हुन सकेन ।
० अबको आन्दोलनबाट जनजीवनमा कुनै प्रभाव पर्दैन ?
— आन्दोलनले गर्दा प्रभाव त पर्छ । आन्दोलनले कुनै प्रभाव नै पर्दैन भन्ने होइन । पहिला नाकाकेन्द्रित आन्दोलन थियो, अब काठमाडौंकेन्द्रित हुन्छ । अबको आन्दोलन मधेशीले मात्र होइन, सबै उत्पीडित समुदाय मिलेर गर्न लागेका छन् ।
० हालै स्व. गजेन्द्रनारायण सिंहको जन्मजयन्ती र सद्भावना पार्टीको वार्षिकोत्सव मनाइयो । स्व. सिंहलाई कसरी सम्झिनुहुन्छ ?
— यस वर्ष गजेन्द्रबाबुको जन्मदिन र सद्भावना पार्टीको वार्षिकोत्सव एकै दिन परेको थियो । यसअवसरमा हामीले काठमाडौं अन्तरक्रिया पनि राखेका थियौं । गजेन्द्रबाबुको सद्भावना पार्टीको उत्पति मधेशीसँगको विभेदकै कारण भएको थियो । २०४० सालमा डा. हर्कबहादुर गुरूङले आन्तरिक बसाई–सराईसम्बन्धी प्रतिवेदन ल्याएका थिए । त्यो प्रतिवेदनमा सबै मधेशीलाई भारतीय करार गरिएको थियो । त्यसपछि आफ्नो अस्तित्व र पहिचानका लागि मधेशमा संघर्ष सुरू भयो । विभेदविरूद्ध संघर्ष सुरू भयो । र, त्यसको अगुवाइ गजेन्द्रबाबुले गर्नुभयो । पञ्चायतकालमा पार्टी खोल्ने छुट थिएन । त्यसबेला उहाँले सद्भावना परिषद् गठन गर्नुभयो । परिषद्को गठनसँगै उहाँले संघर्ष सुरू गर्नुभएको थियो ।
० गजेन्द्रबाबुले ३३ वर्षअघि देखेका सपनाहरू कति साकार भए त ?
— २०४६ सालको आन्दोलनपछि देशमा प्रजातन्त्र आयो । प्रजातन्त्र आइसकेपछि २०४७ साल बैशाख ३ गतेका दिन गजेन्द्रबाबुले सद्भावना परिषद्लाई पार्टीका रूपमा परिणत गर्नुभयो । र, पार्टी स्थापित भयो । उहाँले भेदभावको शिकार भएका मधेशी, आदिवासी, जनजाति, दलित, थारू, मुस्लिम, महिलालगायतका लागि संघर्ष गर्नुभयो । यी सबै वर्ग र समुदाय विभेदबाट मुक्ति पाउनुपर्छ र विभेदविरूद्ध संगठित हुनुपर्छ भन्दै उहाँले विभिन्न मागहरू राख्नुभएको थियो । आजभन्दा ३३ वर्षअघि उठाइएका एजेण्डाहरू संघीयता, नागरिकता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समावेशी समानुपातिक प्रतिनिधित्व, भाषा, संस्कृति, भेषभूषालगायतका लागि उहाँ लड्नुभयो । नश्लवादी चिन्तनका साथ गरिएका सबै विभेद अन्त्य गर्नका लागि उहाँले थाल्नुभएको अभियान ३३ वर्षपछि पनि उत्तिकै सान्दर्भिक छन् । गजेन्द्रबाबुले उठानुभएको कतिपय एजेण्डा त सम्बोधन भइसकेका छन् । नागरिकता समस्या सम्बोधन भएको छ । नागरिकतासम्बन्धी केही कुरा अझै बाँकी पनि छन् । जनसंख्याका आधारमा निर्वाचिन क्षेत्र पाइसकेका थियौं । तर, नयाँ संविधानमा फेरि विभेद भयो ।
विगतमा मधेशीले पाएका थुप्रै कुरा नयाँ संविधानसँगै गुमेका छन् । हामीले कानुनी रूपमा आफ्नो भेष र पहिरनको मान्यता पाएका छौं । तर, व्यावहारिक रूपमा अझै पनि मान्यता पाउन बाँकी नै छ । त्यस्तै, सांस्कृतिक मान्यताहरू पाएका छौं । संसदभित्र दौरा, सुरूवाल र टोपी मात्र लगाएर जानुपर्ने जुन प्रावधान थियो, त्यसको अन्त्य भएको छ । घोषित र अघोषित रूपमा यी केही सवालहरू सम्बोधन भएका छन् । तर, केही खोसिएका पनि छन् । महत्वपूर्ण एजेण्डाहरू पूरा हुन अझै बाँकी नै छ । सन्तोषको कुरा के छ भने, गजेन्द्रबाबुले त्यो बेला जे–जे एजेण्डाहरू उठाउनुभयो, ती एजेण्डाकै लागि हामी लडिरहेका छौं । नयाँ एजेण्डा कुनै छैन, सबै एजेण्डा गजेन्द्रबाबुले उठाउनुभएको थियो ।
० मधेशकेन्द्रित दलहरू वास्तवमा गजेन्द्रबाबुकै पथमा हिंडेका हुन् त ?
— हेर्नुस् । सैद्धान्तिक रूपले मधेशकेन्द्रित दलहरू, आदिवासी–जनजातिसम्बद्ध पार्टीहरूलगायतले गजेन्द्रबाबुले उठाएका सवालहरू नै मुख्य सवाल हुन् भनेर भन्दै आएका छन् । सबै दलका घोषणापत्रका गजेन्द्रबाबुले उठाएका कुरा नै राखिएका छन् । गजेन्द्रबाबुको लाइन नै आफ्नो पार्टीको लाइन भनेर सबै मधेशकन्द्रित दलले भन्दै आएका छन् । तर, व्यावहारिक रूपमा पार्टीभित्र विचलन आएको पनि देखिन्छ । जस्तै, विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक आफूलाई मधेशकन्द्रित पार्टी भन्दै आएको छ ।
तर, संविधान निर्माणका क्रममा फोरम लोकतान्त्रिकले १६ बुँदेमा हस्ताक्षर ग¥यो । वास्तम फोरम लोकतान्त्रिकले ठूला दलसँग गरेको १६ बुँदे सहमतिमा मधेशी, आदिवासी, जनजातिलगायत सबै उत्पीडित समुदायका अधिकार खोसिए । त्यसैले फोरम लोकतान्त्रिकमा विचलन देखियो । अन्य पार्टीमा पनि विचलन देखिएको छ । कतिपय कुरामा जसरी अडान लिनुपर्ने थियो, त्यसरी केही दल अडान लिनबाट चुके । यी कुराहरूको समीक्षा भइरहेको छ । त्यसैले मधेशका लागि राजनीति गर्न आएका संगठन तथा नेताहरू इमान्दारीका साथ अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।
० गजेन्द्रबाबु जस्तो सर्वमान्य नेता मधेशकेन्द्रित दलमा नदेखिनुले पनि विचलन आएको हो ?
— यस वर्षकै कुरा गर्दा, गजेन्द्रबाबुको जन्मजयन्ती कुन–कुन मधेशकेन्द्रित दलले मनाए त ? उहाँको सिद्धान्तअनुसार हिंडेको छु भन्ने तर, उहाँलाई नसम्झिने परिपाटी त देखियो नि । मधेशकेन्द्रित दलको प्रेरणाको स्रोत को ? ठिक छ, विगतमा कोही कांग्रेसबाट आएका होलान्, कोही एमालेबाट आएका होलान्, कोही माओवादी, राप्रपाबाट आएका होलान् । तर, मधेशको राजनीति गरेपछि प्रेरणाको श्रोत त गजेन्द्रबाबु नै हो नि ।
कांग्रेसबाट आएकाहरूको प्रेरणाको श्रोत अहिले पनि बीपी र गिरिजाप्रसाद कोइराला नै हुने हो कि, एमालेबाट आएकाको प्रेरणाको श्रोत पुण्पलाल श्रेष्ठ, मनमोहन अधिकारी नै हुने हो कि । त्यस्तै, माओवादीबाट आएकाका लागि माओ, लेनिनहरू नै हुने हुन् कि । यी सवालहरू उठ्छन् नि त । हिजोका दिनमा उहाँहरूका प्रेरणाका श्रोत जो भए पनि आजका दिन प्रेरणाको स्रोत को हुन् भन्ने कुरा बुझ्नु आवश्यक छ । त्यसैले प्रेरणाको श्रोतलाई सम्झिनुपर्छ । यसमा इमान्दार हुनुपर्छ ।
० गजेन्द्रबाबुको निधनसँगै तत्कालीन नेपाल सद्भावना पार्टीमा देखिएको टुटफुटका कारण पनि मधेशका एजेण्डा अझै पूरा हुन नसकेका हुन् ?
— स्वाभाविक हो नि । कुनै पनि पार्टीको विभाजनले कमजोरी नै ल्याउँछ नि । त्यसमा पनि एजेण्डाका लागि लड्ने पार्टी विभाजित हुनुले स्वभाविक रूपमा मुद्दामा असर पर्छ । सद्भावना परिवार पनि विभिन्न कालखण्डमा विभाजित भए । त्यो दुखद हो । विभाजनले असर गरेकै हो । विभाजन कुनै पनि दलका लागि राम्रो हुँदैन । सिद्धान्तका लागि विभाजन हुनु एउटा कुरा हो । तर, स्वार्थका लागि विभाजित भएकाहरू सिधिएका छन् । जनताले तिनीहरूलाई पत्याएनन् ।
० सद्भावना नामधारी पार्टीहरूलाई एकीकरण गर्ने प्रयास सेलायो ?
— नामधारी होइन, अब कमधारी चाहियो । सद्भावना नाम राख्दैमा केही हुँदैन । म आह्वान गर्छु, सबै एकै ठाउँमा बसौं । विगतका तिता कुराहरू बिर्सेर सबै एक ठाउँमा आउनुपर्छ । ३३ वर्षदेखि विभेदविरूद्ध सद्भावना पार्टी लड्दै आएको छ । र, आगामी आन्दोलनको लडाईं पनि सद्भावनाले नै लड्छ भन्ने मलाई विश्वास छ । अहिले ६ महिनासम्म चलेको आन्दोलनमा पनि सद्भावना पार्टीले आफ्नो भूमिका निर्वाह गरेको छ । त्यसैले सद्भावना परिवारका साथीहरू जो जहाँ भए पनि एकीकृत हुनुपर्छ । मिलेर काम गर्नुपर्छ । र, जनतालाई अधिकार दिलाउनुपर्छ ।
० नयाँ संविधानप्रति अन्तर्राष्ट्रिय समुदायले असन्तुष्टि जनाउँदै आएका छन् । तर, सरकारले भने विदेशीले आन्तरिक मामिलामा बोल्नु हुँदैन भनिरहेको छ । के भन्नुहुन्छ ?
— नेपाल सरकारले बकवास गरेको छ । गलत गरेपछि विश्वले गलत भनिहाल्छ नि । नेपाल एक्लै राष्ट्र त होइन । आन्तरिक मामिला हो, जति अत्याचार गरे पनि हुन्छ भन्न पाइन्छ ? यो त हुनै सक्दैन नि । अन्तर्राष्ट्रिय समुदायको सहयोग राम्रो र तर सल्लाह नराम्रो, त्यस्तो पनि हुन्छ । यो अन्तरवार्ता मधेशवाणीमा प्रकाशित छ ।



